Logo

प्रश्नको घेराबन्दीमा विश्वप्रकाश: ‘कांग्रेस र कान्तिपुर एकै हो ?’



काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई सञ्चारकर्मीहरुले ‘कांग्रेस र कान्तिपुर एकै हो ?’ भनि प्रश्न गरेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिया दिएका महामन्त्री शर्मालाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरण जोडेर सञ्चारकर्मीहरुले उक्त प्रश्न गरेका हुन् । सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कांग्रेस सांसदहरु कान्तिपुरको कार्यालय पुगेका थिए । नागरिकता किर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका सिरोहियालाई कांग्रेस सांसदहरुले लाइन लागेर भेटेको दृष्यलाई धेरैले अनौठो मानेका थिए ।

सञ्चारकर्मीहरुको उक्त प्रश्नमा महामन्त्री शर्माले कान्तिपुर पत्रिकाले उपप्रधान एवं गृहमन्त्रीको सहकारी ठगी प्रकरण बाहिर ल्याएर निरन्तर समाचार लेखेकै भरमा पक्राउ गरिएको बताए । राज्यले यसरी प्रतिशोध साँधेर गर्ने कार्यका विरुद्धमा कांग्रेसले निरन्तर प्रतिवाद गरिरहने बताए ।

‘यहाँ अहिले आउनुभएका मिडियाका कुनै पनि साथीहरुले समाचार लेख्नेक्रममा तपाईँहरुको व्यक्तिगत मुद्दा चाहिँ यही बेलामा रिसिईबी साँध्ने ढंगले गरियो । तपाईँलाई म भेट्न गएँ भने तपाई र म एउटै हो र ? होईन नि । तपाई अर्कै हो, म अर्कै ।’ उनले भने, कैलाश सिरोहिया भागेर कहीँ गइरहनु भएको थिएन । कैलाश सिरोहियालाई त्यो दिन पक्रेर तुरुन्तै जनकपुर पु्र्याउनुपर्ने, अनि आज बेलुकामात्रै अदालत पुर्याउने तयारी हुँदैछ । केवल बदलाको कुरा छ । कान्तिपुर दैनिकले निरन्तर सहकारी ठगीको समाचार प्रकाशित गरेको थिएन भने के हुन्थ्यो ?’

आफूहरुले सिरोहियामाथि छानविन नगर भनेर कहिले पनि नभनेको महामन्त्री शर्माले बताए । उनले पक्राउ गर्ने सरकारको शैली ठीक भएन भनेर मात्रै आफूहरुले भनेको बताए । उनले उपप्रधान एवं गृहमन्त्रीको नागरिकता विवाद प्रकरणमा गिरफ्तारी नगरी छानविन भएको समेत स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot