Logo

कान्तिपुरका मालिक कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं,११ जेठ । कान्तिपुर मिडिया ग्रूपका मालिक कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश दिएको हो । उनी ४ दिनदेखि प्रहरीको हिरासतमा थिए ।

मंगलबार काठमाडौंबाट पक्राउ परेका उनी धनुषा प्रहरीको हिरासतमा थिए् । मंगलबार साँझ काठमाडौँको थापाथलीस्थित कान्तिपुर कार्यालयको पक्राउ गरी धनुषा प्रहरीको जिम्मा लगाइएका उनलाई आज दोस्रोपटक म्याद थपका लागि आज पुनः जिल्ला अदालत धनुषा पेस गरिएको थियो । सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको थियो ।

सिरोहियाले आफ्नो पक्षमा बहस गर्न पूर्व कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी)सहित १२ जना अधिवक्तालाई उतारेका थिए । बन्दी नेकपा एकीकृत समाजवादीका नेता हुन् । एसका अध्यक्ष माधवकुमार नेपाल निकट बन्दी एसको कोटाबाट ६ महिना कानूनमन्त्री भएका थिए ।

सिरोहियाका पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, चुमान किशोर लामा, विनोद शर्मा, रमण श्रेष्ठ, शेरबहादुर केसी, टीकाराम भट्टराई र गोविन्द वन्दी तथा अधिवक्ताहरू रमण कर्ण, दीपेन्द्र झा, सुदीप कोइराला, किशोर पौडेल र रवि नायक ले उनको पक्षमा बहस गरेका थिए ।

नागरिकता प्रकरणमा सिरोहिया पक्राउ परेका हुन् । तर, सहकारीको करोडौँ रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे समाचार लेखेको प्रतिशोधमा पक्राउ गरिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले दाबी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot