Logo

अध्यादेशबाट बजेट ल्याउनुपर्यो भने त्यसको जिम्मेवारी कांग्रेसले लिनुपर्छः महेश बर्तौला



काठमाडौं, ११ जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले अध्यादेशबाट बजेट ल्याउनुपर्यो भने त्यसको जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्ने बताएका छन् । आज (शुक्रबार) संसद् भवन परिसर नयाँ बानेश्वरका सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अवरोध कायमै रहेको खण्डमा संविधानले दिएको अधिकार प्रयोग गरेर बजेट आउने बताए । उनले त्यसको जिम्मेवारी भने कांग्रेसले लिनुपर्ने बताए ।

‘१५ गतेभन्दा पछाडि १६ गते चाहेर पनि सरकारले बजेट ल्याउने अवस्था बन्दैन । १५ गते नै ल्याउनुपर्छ, त्यो संवैधानिक बाध्यता हो । नेपाली कांग्रेसले यस प्रकारको संवैधानिक बाध्यता बुझिदिनुपर्छ । संवैधानिक बाध्यता बुझेर हाउसलाई सहज गरेन भने सरकारले बजेट त ल्याउनुपर्छ । सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउनुपर्ने अवस्था निर्माण हुन्छ । त्यसो भयो भने यसको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्छ,’– उनले भने ।

साथै, उनले कांग्रेस पार्टीलाई ‘भ्रष्टैभ्रष्टको चौतारी’ को संज्ञा दिए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्ता समीकरणलाई ‘सहकारी बन्धु गठबन्धन’ नामाकरण गरेको विषयमा टिप्पणी गर्दै बर्तौलाले अरुमाथि प्रश्न गर्दैगर्दा आफूतर्फ पनि प्रश्न छ कि छैन भनेर विचार गर्नुपर्ने बताए ।

‘भ्रष्टैभ्रष्ट सम्मिलित भएको चौतारी हो नेपाली कांग्रेस । त्यो टाढा जानुपर्दैन, कांग्रेसले बुझ्नुपर्छ । यस्ता आरोप लगाउँदैगर्दा, अरुलाई प्रश्न गर्दैगर्दा आफूतर्फ पनि प्रश्न छ कि छैन भनेर विचार गर्नुपर्छ । एउटा कांग्रेस संसदीय समितिमा गएर गृहमन्त्रीसँग मज्जाले छलफल चलाउँछ । सवाल जवाफ गर्छ ।’ उनले थपे, ‘अर्को कांग्रेस आएर सभामा वेल घेराउ गर्छ । अशिष्ट व्यवहार गर्छ । आज समस्या गाँठो परेको र निकास नभएको एउटै कारण भनेको सभापति कांग्रेस, उपसभापति कांग्रेस र महामन्त्री कांग्रेसको चेपुवामा सिंगो कांग्रेस पर्यो । जसको मारमा संसद् पर्यो, हामी सबै पर्यौं ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot