Logo

एलएलबी प्रवेश परीक्षाको प्रश्न अङ्ग्रेजीमा मात्रै सोध्ने तयारीपछि ल क्याम्पस स्ववियूद्वारा डीन कार्यालयमा तालाबन्दी



काठमाडौं, ११ जेठ । नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले एलएलबी प्रवेश परीक्षाको प्रश्न अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिनुपर्ने माग सम्बोधन नभएपछि डीन कार्यालयमा तालाबन्दी गरेको छ । त्रिभुवन विश्वविद्यालयले सबै प्रश्नपत्र अङ्ग्रेजी, नेपाली दुवै भाषामा सोध्ने निर्णय डीन कार्यालयले नमानेको भन्दै स्ववियूले तालाबन्दी गरको हो । डीन कार्यालय विद्यार्थीहरु प्रतिको जवाफदेही नबनेको स्वबियूले बताएको छ ।

डीन कार्यालयको असक्षमता र रवैयाको विरुद्ध स्ववियु नेपाल ल क्याम्पस डीन कार्यालय विरुद्ध तालाबन्दी गर्न बाध्य भएको स्वबियूको भनाइ छ । तत्काल विधार्थीका मागहरु पूरा नगरे डीनसहित पदाधिकारीको राजीनामासहित प्रदर्शनमा उत्रिने स्वबियूले चेतावनी दिएको छ ।

साथै, तालाबन्दीको सन्दर्भलाई लिएर डीन कार्यालयले क्याम्पसमा सञ्चालित नियमित कक्षा, अन्य परिक्षा र नियमित गतिविधि प्रभाविन पार्न खोजे जुनसुकै हदसम्म जाने स्वबियूको चेतावनी छ ।

स्ववियूले गत जेठ १ गते एलएलबी प्रवेश परिक्षाको सन्दर्भमा विभिन्न मागहरु राख्दै डीन कार्यालयलाई विज्ञप्ति बुझाएको थियो । प्रवेश परिक्षाको प्रश्नपत्र अङ्रेजी नेपाली दुवै भाषामा सोधिनु पर्ने र प्रवेश परिक्षाको नमुना प्रश्नपत्र तत्काल सार्वजनिक गरिनुपर्ने स्ववियूको माग थियो ।

त्यस्तै, प्रवेश परिक्षाको अङ्गभारको हकमा मुलुकी देवानी संहिता, मुलुकी अपराध संहिता र देवानी तथा फौजदारी कार्यविधी संहिताको अंकभार घटाइ संविधान र विधिशास्त्रको अंकभार बढाउन स्वबियूले माग गरेको थियो ।

साथै, एलएलबी प्रवेश परीक्षाको नतिजा प्रकाशन र भर्ना प्रक्रियामा बिए एलएलबी र एलएलएम तहको प्रवेश परीक्षाअनुरुपकै मोडल कायम गरिनुपर्ने स्वबियूको माग थियो । समग्र विद्यार्थीहरुको गुनासो सम्बोधन गरेर आफूहरुले राखेको मागप्रति डीन कार्यालय मौन बसेको स्वबियू अध्यक्ष विष्णु ढुङ्गेलले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot