Logo

लामखुट्टे नियन्त्रण गर्न चुक्यौं भने डेङ्गी भयावह बन्नसक्छः सरुवा रोग विशेषज्ञ डा. पुन



काठमाडौं, १२ जेठ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले समयमै लामखुट्टे नियन्त्रणको उपाय अवलम्बन गर्ने हो भने डेङ्गीको प्रकोप बढ्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन टाइम रहेको बताए । गर्मी मौसम बढेसँगै पानीजन्य रोगहरु, झाडापखला, हैजाजस्ता सरुवा रोग देखिन थालेको बताए । ‘लामखुट्टे नियन्त्रणको एकदमै गोल्डेन टाइम आएको छ । हामी यो समयमा लामखुट्टै नियन्त्रण गर्ने उपायहरु अपनाउन सकेनौं, गरेनौं भने संक्रमण बढ्छ । लामखुट्टे नियन्त्रण गर्ने समय आइसक्यो । यदि हामी यहाँबाट चुक्यौं भने डेङ्गु हुनसक्छ,’– उनले भने ।

नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको सन्दर्भ उल्लेख गर्दै उनले यसले जेष्ठ नागरिकहरुलाई निकै गाह्रो बनाइरहेको बताए । यसको संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने उनको सुझाव छ । ओमिक्रोनको सब भेरियन्ट डेढ महिनादेखि नै देखिएको हुनसक्ने उनको अनुमान छ । उनले भने, ‘कोरोनाको नयाँ भेरिएन्ट भर्खर पत्ता लागेको छ । यो भन्दा डेढ महिना अगाडि धेरै जेष्ठ नागरिकहरु विरामी भएर अस्पताल भर्ना भएका थिए । त्यो बेलादेखि नै ओमिक्रोनको सब भेरिएन्ट थियो कि भन्ने मेरो अनुमान छ । अप्रिल र मे महिनाको नमुना लिएर गरिएको भनिएको छ । जुन बेलामा नेपालमा विरामीहरु बढेका थिए, केही समय अगाडि त्यो बेलामा थियो भन्ने मेरो अनुमान हो ।’

कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिरहेको उनको भनाइ छ । उनले कोरोना विश्वमा नै तीब्र रुपमा आफ्नो स्वरुप परिवर्तन गरेर फैलिरहेको बताए । अहिले आएको ओमिक्रोन सब भेरियन्टबारे उनले भने, ‘कोरोना निमिट्यान्न भएको थिएन । हामीले पनि भन्दै आएका थियौं । यो न्यून अवस्थामा थियो र मैले पनि के भन्दै आएको थिएँ भन्दा भाइरसले नयाँ–नयाँ स्वरुपहरु परिवर्त गर्दै आएको अवस्था छ । भेरियन्ट नै परिवर्तन भएको होईन । ओमिक्रोन भेरियन्टको पनि सब भेरियन्ट हो । यसले विश्वमा नै आफ्नो तीब्रता अगाडि बढाएको देखिन्छ । ओमिक्रोन भेरियन्टको सब–भेरियन्टले मेरो अनुभवमा के पनि गरेको छ भन्दाखेरी जेष्ठ नागरिकहरुलाई गाह्रो बनाइरहेको छ । अस्पताल नै पुर्याउनुपर्ने अवस्था बनाएको छ ।’

साथै, नेपालको संक्रमक रोगको रोकथामका सन्दर्भमा सरकारको ध्यान नपुगेको उनले बताए । संसारको कुनै पनि ठाउँमा फैलिएको संक्रमक रोग सजिलै नेपाल प्रवेश गर्ने अवस्थामा रहेपनि एउटा पनि सुविधा सम्पन्न अस्पताल नबनेको उनले बताए । उनले संक्रमक रोग भयावह भएको अवस्थामा आशा र भरोसाको केन्द्र बनिरहेको टेकू अस्पालको स्तरोन्नती गर्नेबारे नीति निर्माताको दृष्टि नपरेको बताए । ‘स्वास्थ्यमा त्यसमाथि पनि संक्रमक रोकको रोकथाममा सोचेजस्तो छैन । जब म यो सरुवा रोगमा केही गर्न सकिन्छ कि भनेर लागेँ, एउटा सुविधा सम्पन्न अस्पताल समेत बन्न सकेको छैन ।’ उनले भने, ‘यो पोलिसी मेकर्सको दृष्टिमा परेन । संक्रमक रोग आउँछ । त्यो बेलामा आशा र भसोरा टेकू अस्पताल हुने, स्तरोन्नति चाहीँ कहिले पनि नहुने । अबको २१औं शताब्दीमा संसारको कुनै ठाउँमा संक्रमक रोग फैलियो भने अछुतो रहने कुरा भएन । किन भने यातायातको सहज पहुँच छ । तर, हामीले अहिलेसम्म कुनै पनि क्षमतावान अस्पतालहरु विकास गर्न सकिरहेको छैन ।’



प्रतिक्रिया दिनुहोस्