Logo

बिरामी देउवा भेट्न पुगेका प्रचण्डलाई कांग्रेसले भन्यो: छानबिन समितिमा रविको नाम लेख्नैपर्छ



काठमाडौं,१३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो । देउवा र प्रचण्डबीच करिब ४० मिनेट वार्ता भएको थियो । सहकारी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारका विषयमा सहमति प्रयास भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गर्ने तय भएको थियो।

तर देउवा अस्वस्थ भएकाले सो बैठक नै बूढानीलकण्ठमा सारिएको हो । बिरामी देउवालाई भेट्न पुगेका प्रचण्डलाई कांग्रेसले भने निराश बनाएर पठाएको छ । छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नैपर्ने अडानबाट टसमस नहुने निर्णय कांग्रेसले गरेको सांसद जीवन परियारले जानकारी दिए ।

‘हामीले राखेको कुरामा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ’, सांसद परियारले भेटवार्ताबारे जानकारी दिँदै सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्रीज्यूले शीर्ष नेताबीच पुनः छलफल गरेर आजै बेलुका तथा भोलि बिहानसम्म सहमति जुटाउने भन्नुभएको छ।’

सत्तापक्षले रविको नाम लेख्न नहुने बताउँदै आएपनि कांग्रेसले आफ्नो अडान नछाड्ने परियारले बताए । ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ’ उनले भने ।

तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot