Logo

भौतिकमन्त्री महासेठले बालेनलाई भने, ‘सुझावको लागि धन्यवाद’



काठमाडौं, १३ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई सुझावका लागि धन्यवाद दिएका छन् । आज (आइतबार) संसद् भवन परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले महानगरले हिजो सडक विभागको कार्यालयमा धुलो ल्याएर खसाल्नुलाई आफूले सुझावको रुपमा लिएको बताएका हुन् ।

हिजो काठमाडौं महानरको गाडीले सडक विभाग अगाडि फोहोर ल्याएर खसालेको थियो । महानगरको गाडीले फोहोर खसालेलगत्तै महानगर प्रमुख शाहले मन्त्री महासेठलाई सम्बोधन गर्दैै लामो विज्ञप्ति सार्वजनिक गरेका थिए । कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक नबन्दा १५ वर्षदेखि जनताले धुलो खान परिरहेको बालेको आक्रोश थियो ।

धुलो जनताले मात्रै खाँदा राम्रो नदेखिएको टिप्पणी गर्दै उनले निर्माणधीन उक्त सडकको काम सुरु नभएसम्म पाएक पर्ने ठाउँमा धुलो उपहार पठाइरहने पनि बालेनले बताएका थिए ।

बालेनको उक्त अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा मन्त्री महासेठले भने, ‘कलङ्कीदेखि महाराजगञ्जलाई मैले सुझावको रुपमा लिएको छु, सल्लाहको रुपमा लिएको छ । त्यो सल्लाहको लागि म उहाँलाई धन्यवाद दिन्छु । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । त्यो बनाउनै पर्छ । सरकारले बनाउनै पर्छ । त्यसलाई मैले अन्यथा लिएको छैन ।’

साथै, उनले काठमाडौं महानगरले न्यूरोडमा गरेको क्रियाकलाप भने कानुनसम्मत नरहेको बताए । न्यूरोडमा महानगरले गरिरहेको तोडफोडलाई सडक विभागले रोकेको उनले जानकारी गराए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot