Logo

संसद्को गतिरोध अन्त्यका लागि प्रचण्डलाई माधवले बुझाएको ध्यानाकर्षण पत्रमा के छ ?



काठमाडौँ, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ ।

पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा संसद्को गतिरोध अन्त्यका लागि छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्नुपर्नेलगायत विषय उल्लेख छन् ।

“संसद् जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो । त्यसैले संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्रीले सार्थक संवाद तथा छलफलसहित विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास हाम्रो पार्टीको विश्वास छ”, पत्रमा भनिएको छ ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित अन्य प्रतिपक्षी दलसँग तत्काल सार्थक छलफल र वार्ताद्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउन आफूले पहल गरिरहेको र चाँडै संसद्का नियमित कामकारबाही अगाडि बढ्ने बताएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

पार्टी अध्यक्ष नेपालले पनि संसद्को गतिरोध अन्त्य गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहलकदमीको अपेक्षा गर्दै पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सम्पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पार्टी उपाध्यक्ष हमालले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot