Logo

यातायातका पूर्वकम्युटर इन्जिनियर हरिश भट्टविरुद्ध दोस्रो किर्ते मुद्दा दायर (आरोपपत्रसहित)



काठमाडौं, १३ जेठ । स्मार्ट लाइसेन्स घोटालामा यातायात व्यवस्था विभागका पूर्वकम्प्युटर इन्जिनियर हरिश भट्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा दोस्रो किर्ते मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टविरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा दोस्रो मुद्दा दर्ता गराएको हो ।

सिआईबीले एक हप्ता अगाडि मात्र भट्ट र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल, यातायात व्यवस्था कार्यालय, बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेसहितलाई विपक्षी बनाएर किर्ते मुद्दा दर्ता गराएको थियो ।

गाडीले हानेर मान्छे मार्ने स्याङजाका शशांक बस्याललाई नक्कली लाइसेन्स दिएको अभियोगमा भट्ट, अर्याल र पाण्डेसहित ७ जना व्यक्तिलाई प्रतिवादी बनाएर सीआईबीले किर्ते मुद्दा दायर गरेको हो । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले भट्टलाई २ लाख र अर्याल र पाण्डेलाई ५र५ लाख रुपैयाँ धरौटी माग गरेको छ । अर्याल र पाण्डे ५र५ लाख धरौटी बुझाएर छुटेपनि भट्ट सिआईबी कै हिरासतमा छन् ।

फार्स्ट प्रिन्टरको नाममा नक्कली कागजात पेस गरेर ५ हजारदेखि ५० हजार रुपैयाँसम्म घुस लिएर लाइसेन्स छापेको अभियोगमा भट्टसहित ७ जनाविरुद्ध सिआईबीले आईतबार काठमाडौं जिल्ला अदालतमा लिखत सम्बन्धी कसुरमा अर्को मुद्दा दर्ता गराएको हो । ललितपुरको एकान्तकुनास्थित सुजुकी ड्राइभिङ सेन्टरका सञ्चालक समेत रहेका भट्टसहित यातायात व्यवस्था विभागका पूर्व कम्प्युटर अपरेटर बसन्त पाण्डे, कम्प्युटर अपरेटर दीपा न्यौपाने र सहायक कम्प्युटर अपरेटर बिर्जुकुमार चौधरीविरुद्ध किर्ते मुद्दा दर्ता भएको छ ।

यातायात व्यवस्था विभागका पूर्व कम्प्युटर अपरेटर हाल जिल्ला प्रशासन कार्यालय, सल्यानमा कार्यरत गणेश भण्डारी, एकान्तकुनास्थित वेलकम ड्राइभिङ सेन्टरका बिचौलिया प्रदीप सुनार र यातायात व्यवस्था विभाग, बानेश्वर नजिकै रहेको साइबरका सञ्चालक मिलन बाँस्तोलालाई पनि सिआईबीले उक्त मुद्दामा प्रतिवादी बनाएको छ । उनीहरु नक्कली कागजात तयार पारेर पेस गरी तत्काल लाइसेन्स छापेर उपलब्ध गराउने कार्यमा संलग्न रहेको सिआईबीको अभियोग रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot