Logo

संसद् अवरोधका पछाडि सत्ता समीकरण भत्काउने नियत लुकेको छः महासचिव पोखरेल



काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संसद्मा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । पार्टीको बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको औँल्याए । कांग्रेसले सदन अवरोध गर्नुको पछाडि सत्ता समीकरण भत्काउने नियत लुकेको टिप्पणी गरे । ‘संसद्को अवरोधका पछाडि अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको हुनसक्छ,’– उनले भने ।

उनले कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र लोकप्रियताको नारा लगाउने दुवै खाले शक्तिहरु इलामको उपनिर्वाचनमा जनताले दिएको अभिमतबाट परास्त भएको दाबी गरे । पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा एमाले का स्थायी कमिटी सदस्य अग्नी खरेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

झापाका चार पालिकामा नेतृत्व चयन

एमालेले झापाका १५ वटा पालिकामध्ये चार वटा नगरपालिकामा पार्टीको पालिका समिति हालै निर्वाचित गरेको छ । मेचीनगरमा राजु कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ भने शिवसताक्षी नगर कमिटीको अध्यक्षमा मेदनी दङ्गाल निर्वाचित भएकी छन् ।

यसैगरी, पार्टीको झापा गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा मोहन घिमिरे र दमक नगर कमिटीको अध्यक्ष पदमा राम पौडेल निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot