Logo

सरकारले सङ्क्रमणकालीन न्यायलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छः मन्त्री गिरी



काठमाडौं, १३ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय मानव अधिकार आयोगलाई प्रभावकारी तथा चलायमान बनाउन सरकार गम्भीर रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २४औँ स्थापना दिवसका अवसरमा आज आयोजित वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले आयोगले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले राज्य र राजनीति शक्तिहरुको दरिलो प्रतिबद्धता र ऐक्यबद्धता रहँदा आयोगले मानव अधिकारका विश्वव्यापी मूल्य र मान्यताहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम भएको तथ्य प्रमाणित भएको बताए ।

‘मानव अधिकारलाई मर्यादा र स्वतन्त्रताको साँघुरो घेराभित्र मात्रै परिभाषित गरिनु हुँदैन । यसका बहुआयामिक पक्षहरूको बृहत् र सूक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषणका आधारमा कार्यहरु गरिनुपर्छ । हाम्रा लागि राष्ट्रभित्र स्थापित मान्यता तथा मर्मसहितको न्यायिक, सुरक्षित र शान्तिपूर्ण समाज स्थापना आजको आवश्यकता र चुनौती दुवै हो,’– उनले भने ।

शासन प्रणालीको सुधारमा विभिन्न सकारात्मक पहल भइरहेको भन्दै उनले सरकारले दिगो विकास लक्ष्यले परिकल्पना गरेको कोही पनि पछाडि नपरून् भन्ने मूल मन्त्रका साथ मानव बेचबिखन, गरिबी निवारणलगायतलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा सम्बोधन गर्ने प्रयास गरिएको बताए ।

उनले मानव अधिकारको संरक्षण, संवद्र्धन तथा विश्वव्यापी आवधिक पुनरावलोकन तेस्रो चक्रबाट नेपालका लागि प्राप्त सिफारिसहरुको कार्यान्वयनका लागि एकीकृत कार्ययोजना निर्माण गरिएको बताए । वर्तमान सरकारले सङ्क्रमणकालीन न्यायका लागि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । सर्वोच्च अदालतको आदेश र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस र सुझाव, अन्तर्राष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र दिगो शान्ति हासिल गर्ने लक्ष्यअनुरुप ऐन संशोधन गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot