Logo

राजनीतिक विश्लेषक खनालको दाबीः प्रचण्डले एमालेका मन्त्री बर्खास्त गरेर कांग्रेससँग मिल्ने सम्भावना छ (भिडिओसहित)



काठमाडौं, १४ जेठ । राजनीतिक विश्लेषक रञ्जन शर्मा खनालले वर्तमान संविधान देशले धान्न नसक्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान संविधान विघटन गर्नुपर्ने बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान संविधान र संसद्ले देशलाई निकास दिन सक्दैन भन्ने निश्कर्ष निकालेको बताए । साथै, प्रष्ट रुपमा भन्न नसकेपनि अहिलेको संविधान र संसद्कै विरोधमा नेपाली कांग्रेस सडकमा गएको उनले दाबी छ ।

‘यो संविधानले देश अब धान्दैन, यो विघटन गर्नुपर्छ । यो संसद् पनि चल्न सक्दैन । यो मेरो ठहर होईन, केपी ओलीजी अहिले सरकारमै हुनुहुन्छ, उहाँले नै चल्दैन भनेको हो नि ।’ उनले भने, ‘कांग्रेस अहिले सबैभन्दा ठूलो दल त्यो सडकमा छ । यसको निश्कर्ष के हो भने कांग्रेसले स्पष्ट रुपमा भन्न सकेको छैन । तर, यो संविधान चल्न सक्दैन, यो सदन चल्न सक्दैन । सन्देश त्यही नै हो नि ।’

वर्तमान व्यवस्था र संविधानले देश चल्न नसक्ने बताउँदै उनले अब देश कोर्श करेक्सनमा जाने बताए । विश्लेषक खनालले प्रणालीको कारण सरकार अस्थिर बनेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेर पुनः कांग्रेससँग सहकार्य गर्ने सम्भावना पनि रहेको बताए ।

‘अब कोर्श करेक्सनमा जान्छ । परिवर्तन हुनुपर्छ । किनभने सिस्टम अब देशले थेग्न सक्दैन । कोर्श करेक्सनविना देशले नेतृत्व पाउन सक्दैन, देश चल्न सक्दैन, देशको प्रणाली चल्न सक्दैन ।’ उनले भने, ‘एक दुई महिनाको बीचमा कहिले एमालेलाई बोकेको छ, कहिले कांग्रेसलाई बोकेको छ, प्रचण्डजीले । त्यो प्रणालीको खराबी हो । प्रधानमन्त्रीले चाहनु भयो भने सबै मन्त्रीहरुलाई बर्खास्त गर्न सक्नुहुन्छ । कांग्रेसबाट मन्त्री नियुक्त गर्न सक्नुहुन्छ ।’

अब राजनीतिक कोर्श करेक्सनमा जाँदैगर्दा २०६२ साल वैशाख ११ गते राजा र दलबीच भएको सम्झौतासम्म पुग्न सकिने पनि बताए । तर, उक्त सम्झौता के थियो उनले खुलाउन चाहेनन् । त्यस्तै, अर्को विकल्पका रुपमा राष्ट्रिय सहमतिको सरकार पनि हुनसक्ने उनको भनाइ छ ।

उनले भने, ‘अब देशमा कोर्श परिवर्तन हुन्छ । दलहरु र राजाको बीचमा २०६३ साल वैशाख ११ गतृे सम्झौता भएको थियो, त्यहाँ जानुपर्छ । होईन भने सबै दलहरुको बीचमा राष्ट्रिय सहमति हुनुपर्छ । त्यो हुन अहिले गाह्रो भइराखेको छ ।’

साथै, विश्लेषक खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दालाई निधेष नगर्न आग्रह गरे । हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा निधेष गरेर लामिछाने नेता बन्न नसक्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot