Logo

कांग्रेस उपसभापति गुरुङको प्रष्टीकरणः मैले केपी ओलीसँग भिडेको होईन



काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ४ गते संसद् भवनमा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँगको मुडभेडबारे जवाफ दिएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले आफूले एमाले अध्यक्ष ओलीलाई कुनै दुर्व्यवहार नगरेको बताए । कांग्रेस उपसभापति गुरुङले संसद् बैठकमा ओलीलाई औँला ठड्याउँदै मर्यादाविपरीत आचरण देखाएको र दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो ।

उपसभापति गुरुङले आफूले नारा लगाउने क्रममा औंला ठड्याएको बताए । एमाले अध्यक्ष ओलीले सो क्रममा ‘यताबाट उता जानुस् धनराजजी’ भनेको र आफूले कुनै प्रतिवादसमेत नगरेको उनले बताए ।

‘त्यहाँ भिडेकै होईन । मैले नारा लगाउँदै औंला ठड्याएको र हाम्रो पूर्व प्रधानमन्त्री, नेकपा (एमाले) का अध्यक्षज्यूले तपाईँ यताबाट उता जानुस् धनराजजी भनेको भ्वाइस तपाईँले सुन्नुभएन ।’ उनले भने, ‘त्यति भन्नुभयो । मैले उहाँलाई कुनै प्रतिवाद नगरी नारामात्रै लगाइरहेको थिएँ ।’

सदन स्थगित भइसकेपछि पनि अध्यक्ष ओली र आफूले हाँसेरै संवाद गरेको उनले बताए । नेताहरुबीचको सानातिना विवादलाई उनले ‘परालको आगो’ को संज्ञा दिए । उनले भने, ‘नेताहरुको बीचमा अलिअलि भएको जस्तो देखिन्छ । तर, छिनभरमै, त्यो परालको आगो भन्छौं नि हामी, परालको आगो खाली श्रीमान श्रीमतीको बीचमा मात्रै लागू हुँदैन । नेताहरुको बीचमा पनि लागू हुन्छ । यो परालकै आगो थियो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot