Logo

केपी ओली र रवि लामिछानेले प्रचण्डको काँधमा बन्दुक राखेर चलाइरहेका छन्ः कांग्रेस युवा नेता ठाकुर



काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमा तानाशाही प्रवृत्ति देखापरेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेको हातमा भोलिको दिनमा सरकारको नेतृत्व जाने हो भने अझ बढी तानाशाही प्रवृत्ति बढेर जाने बताए ।

कान्तिपुर मिडिया ग्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरण जोड्दै उनले भने, ‘नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीसँग मिलेर सरकार चलाइरहेका छन् । जसमा अहिले गृहमन्त्री रवि लामिछाने छन् । रवि लामिछाने गृहमन्त्री भएपछिको केही कुराहरु उनले कुनै न कुनै रुपमा देशलाई तानशाहीको हिसाबले लिड गर्न खोजिरहेका छन् । भोलिको दिनमा उनको हातमा नेतृत्व गयो भने कसरी अझ तानाशाही रुपमा देशलाई लानसक्छन् भन्ने कुराको प्रमाण उनले दिइरहेका छन् । कान्तिपुरका कैलाश सिरोहियालाई पक्राउ गरे, त्यो पनि नागरिकता विषय, जुन विषय ४०/५० वर्षभन्दा पहिलाको थियो ।’

उपप्रधान एवं गृहमन्त्री लामिछानेको पार्टीका मानिसहरुले समाजिक सञ्जालमा ‘सिरोहिया नेपाली नागरिक होईनन्, भारतबाट आएका हुन्’ जस्ता भ्रम फैलाएको उनले बताए । सिरोहिया जनकपुरकै रैथाने रहेको उनको भनाइ छ । उनले भने, ‘यथार्थ के हो भने कैलाश सिरोहिया जनकपुरका रैथाने हुन् । उनको बुबा २००९ सालमा उद्योग बाणिज्य महासंघको महासचिव भएका व्यक्ति थिए ।’

नेता ठाकुले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबाट सिक्नसमेत आग्रह गरे । लामिछानेले बालेनले जति पनि काम गर्न नसकेको उनको टिप्पणी छ । ‘बालेनले काठमाडौं महानगरमा गरेको काम जति पनि रवि लामिछानेले गर्न सकेको छैन,’– उनले भने ।

सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीबीराईको राहदानी रद्द गर्न उपप्रधान एवं गृहमन्त्री लामिछानेले नदिएको नेता ठाकुरको आरोप छ । लामिछानेले अध्यागमन विभागमा उनको राहदानी रद्द नगर्न दवाब दिएको उनले बताए । नेता ठाकुले एउटै प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको र उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भने संरक्षण गरिएको भन्दै आपत्ति जनाए ।

नेता ठाकुरले ओली र लामिछानेले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ को काँधमा बन्दुक राखेर पड्काइरहेको टिप्पणी गरे । नेकपा (एमाले) का अध्यक्ष ओलीको गिरीबन्धु टि स्टेट प्रकरण आएपछि रास्वपा र एमाले मिलेको उनको बुझाइ छ । उनले भने, ‘केपी ओली र रवि लामिछानेको लाइनमा प्रचण्डको काँधमा बन्दुक राखेर चलाइँदैछ । जुन कुरा जनताले बुझ्नुपर्ने छ ।’

उपप्रधान एवं गृहमन्त्री लामिछानेले खेलिरहेको खेलका सन्दर्भमा कांग्रेसको अडान स्पष्ट रहेको उनको भनाइ छ । साथै, कांग्रेसका नेताहरुलाई लामिछानेले धम्काउन र तर्साउन खोजेको बताए । कांग्रेसका नेताहरुले गलत गरेको कुनै प्रमाण फेला नपरेपछि लामिछानेले धम्काउने मात्रै काम गरेको उनले बताए । मधेशमा ४०सालभन्दा पहिला बनेको सबै नागरिकताहरुमा कुनै न कुनै त्रुटी रहेको उनको भनाइ छ । उनले उक्त त्रुटी ब्यक्तिको कारण नभइ कर्मचारीको कमजोरीका कारण भएको दाबी गरे ।

साथै, उनले कनकमणि दीक्षितले नेपालमा धार्मिक द्वन्द्व मच्चाउने खोजेको आरोप लगाए । उनले भने, ‘नेपालमा एक जना व्यक्ति छन्, कनकमणि दीक्षित । जो मिडियाको आवरणमा जर्ज सोरस नामको एक जना अमेरिक खर्बपति र युरोपियन युनियन लगायतको पश्चिमा शक्तिबाट पैसा लिएर उनले अहिले नेपालमा धार्मिक द्वन्द्व निम्त्याउन चाहन्छन् । सनातन धर्मको परम्परालाई समाप्त गर्नका लागि उनी परिचालित देखिन्छन् ।’

उनको सम्पत्ति छानविन गर्नुपर्ने, साझा यातायातमा भएको भ्रष्टाचार छानविन हुनुपर्ने र गैरकानुनी सम्पत्तिको विषय पुनः उठाउनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot