काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।
सर्वोच्चले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो । सर्वोच्चका न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिँदा सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका थिए ।
३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेपछि पाण्डेले सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले मुख्यमन्त्री अधिकारीले पाएको भनिएको विश्वसको मत असंवैधानिक घोषणा गरेको हो ।