Logo

एमालेको राष्ट्रिय महिला भेला आज, पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गर्ने, ओली पनि जाने



काठमाडौं,१६ जेठ । नेकपा एमालेको पहिलो राष्ट्रिय महिला भेला आजबाट सु रुहुँदैछ । जनसंगठन समन्वय संयन्त्रको आयोजनामा सुरु हुन लागेको भेलाको दिउँसो १२ बजे पार्टीकी पूर्व उपाध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रपति भण्डारी र प्रमुख वक्ता एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहनेछन् ।

२०६३ साल जेठ १६ गते एमालेका तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । संसदको यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ ।

प्रज्ञा भवन कमलादीमा करिव पाँच हजार महिलाको सहभागितामा हुने छ । भेलाको दोस्रो दिन १७ गतेको कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बीचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुने छ ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, एमालेमा आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने छन् ।

भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल हुने छ । समूह प्रस्तुतिपछि भेलाका निश्कर्षहरू सार्वजनिक गरिने छ । समापन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् ।

भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी, १५० महिला स्वयंसेवक परिचालन कमिटी निर्माण गरिएको र स्वयंसेवकहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकिएको छ ।



प्रतिक्रिया दिनुहोस्