Logo

बीआरआईको अनुदान लिने हो ऋण लिन हुँदैनः डा.चीरञ्जिवी नेपाल



काठमाडौं, १६ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चीरञ्जिवी नेपालले बीआरआईको ऋण लिन नहुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआईबाट अनुदान लिनुपर्ने बताएका हुन् । उनले बीआरआईको महँगो ऋण छोटो अवधिका लागि लिँदा देशमा गम्भीर आर्थिक संकट आउनसक्ने भन्दै सचेत गराए । नेपालले ऋण लिँदा सस्तो ब्याजदरमा वल्र्ड बैंक, आइएमफ, एडीबीलगायतका संस्थाबाट लामो समयका लागि लिन उपयुक्त हुने उनको सुझाव छ । महँगोमा छोटो समयका लागि ऋण लिँदा श्रीलङ्काको जस्तो समस्या आउने उनको भनाइ छ ।

पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत बीआरआईअन्तर्गत रहेको भनी उनले आपत्ति जनाए । पछिल्लो समय बनेका पोखरा र भैरहवा विमानस्थल प्रयोगमा आउन नसकेको उनले बताए ।

‘बीआरआईअन्तर्गत हाम्रो पोखरा एयरपोर्ट पनि हो भन्ने कुरा धेरै आइसकेको छ । बीआरआईमा हामीले सक्ने हो भने, यो भन्दा अगाडि पनि सबै राजनीतिक दलहरुले बीआरआईमा हामीलाई ऋण होईन, अनुदानको रुपमा अगाडि बढाउनुपर्छ भनेर भनिरहेको हुनाले सरकारले हो यो सोच्ने । हामीले ऋण कस्ता आयोजनामा लिने र कस्ता आयोजनामा खर्च गर्ने ?’ उनले भने, ‘अहिले त सबै नेपालीको लागि पोखरा विमानस्थल, यता भैरहवाको विमानस्थल हामीले अन्तर्राष्ट्रिय विमानस्थल भनेर भन्यो । तर, भैरहवामा त आन्तरिक उडानसमेत हुन सकेको छैन । अब पोखराको विमानस्थल फिजिबल छैन रे । फिजिबल नहुँदा नहुँदै त्यत्रो पैसा लिएर किन बनाइयो ? सरकारले यसको उक्त दिनुपर्छ । ऋण लिनुहुन्न । अनुदान लिने हो । ऋण लिइन्छ भने अत्यन्त सस्तो दरले, बार्गेनिङ गरेर लिनुपर्यो ।’



प्रतिक्रिया दिनुहोस्