Logo

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम: सर्वाधिक चर्चा, बजेट कम, महिलामन्त्री चौधरी भन्छिन्: आफैँलाई ग्लानी भयो



काठमाडौं,१६ जेठ । गत जेठ १ गते सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा धेरैको ध्यान तानेको कार्यक्रम हो । प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ।

राष्ट्रपति राचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे । राष्ट्रपतिको सो घोषणसँगै संसद्मा हाँसोको फोहोरा छुट्यो । स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छेउमै रहेका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठतिर हेर्दै मुस्काएका थिए ।

संसद्मा राष्ट्रपतिले उनले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यसनी, दाईजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने बताए । बोक्सी, दाईजो प्रथालगायतका कूरीति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘महिलालाई आर्थिक रुपमा सक्षम, सवल र सक्षम बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ । बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यसनी, दाईजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिनेछ । सामाजिक कूरीतिको रुपमा रहेको बोक्सीलगायतका प्रथा अन्त्य गरिनेछ’ राष्ट्रपति पौडेलले भनेका थिए ।

सो कार्यक्रम घोषणा भएपछि कतिपयले यस कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्ड र उनकी छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग जोडेर आलोचना गरे । प्रचण्डको पछिल्लो समय देखिएको बढ्दो छोरीमोहलाई नीति तथा कार्यक्रममै घुसाईएको भन्दै आलोचना भएको थियो । तर, वास्तवमा सो कार्यक्रम माओवादी र प्रचण्डको नभएर सत्ता साझेदार दल नेकपा एमाले र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले ल्याएको कार्यक्रम हो ।

महिलामन्त्री चौधरीले ल्याएको सो कार्यक्रमले घोषणाको क्रममा जति चर्चा पायो बजेट भने सो अनुरुपको पाउन सकेन् । मंगलबार संसद्मा आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट भाषण गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड बजेट छुट्याएको घोषणा गरे ।

अधिक चर्चा तर, कम बजेट छुट्याएको भन्दै तालुकदार मन्त्रालयबाटै असन्तुष्टि सुरु भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

बुधबार ललितपुरमा छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले आफूले उक्त कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भए पनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताइन् । मन्त्री चौधरीले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने बताइन् ।

मन्त्री चौधरीले महिला अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानि महसुस भएको बताइन् ।



प्रतिक्रिया दिनुहोस्