Logo

यसपालिको बजेटले कर्मचारीहरुको मनोबल र उत्प्रेरणा बढाउन सकेनः डा.विमल कोइराला



काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटलाई लिएर प्रशंसा र आलोचना दुवै भइरहेको छ । बजेटलाई केहीले चमत्कारिक भनेका छन् भने धेरैले जनतामा भरोसा र विश्वास जगाउन नसकेको भनी टिप्पणी गरेका छन् ।

यसैबीच अगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटलाई लिएर रिपोर्टर्स क्लब नेपालले अर्थविद्हरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा पूर्व मुख्यसचिव डा.विमल कोइरालाले बजेट एकदमै राम्रो आओस् र प्रशंसा गर्न पाइयोस् भनेपनि सोचेजस्तो नआएको बताए । उनले बजेटहरु मिसमास प्रकृतिको रहेको बताए । दूई/चार वर्षका बजेटबाट दुई चारवटा कुराहरु झिकेर केही नयाँ शब्द राखिने प्रवृतिबाट अहिलेको बजेटसमेत मुक्त हुन नसकेको बताए ।

बजेट बनाउने हो भने साढे १७ देखि १८ खर्बभन्दा माथि जान नहुने उनको भनाइ छ । आफूहरुले सोही कुरा सल्लाह दिएको भन्दै उनले स्रोतभन्दा बाहिर जान उपयुक्त नहुने बताए । निश्चित भएका वैदेशिक सहायताका परियोजना, प्रतिवद्धता जाहेर गरिएका बाह्य ऋण र आन्तरिक ऋणको आधारबाट बजेट निर्माण गर्न आफूले सुझाव दिएको उनले बताए । उनले आगामी आर्थिक वर्षको बजेट यथार्थभन्दा अलिकति पर गएको बताए ।

बजेटमा रहेको ऋणको अंशले निजी क्षेत्रमा जाने कर्जामा संकुचन आउने र महँगी बढाउने उनको बुझाइ छ । सार्वजनिक खर्च व्यवस्थापनका सन्दर्भमा आफूले अर्थमन्त्रीलाई डिल्ली खनालको प्रतिवेदन हेरेर सोहीअनुसार गर्न भनी तीन पटक सुझाव दिएको समेत उनले स्मरण गराए । उनले प्रतिवेदनमा भएका कुराहरु नपरेको बताए ।

उनले अहिले आएको बजेटका आधारमा सार्वजनिक खर्च व्यवस्थापन गर्न नसकिने र वित्त सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने आफ्नो आँकलन रहेको बताए । कतिपय योजनाहरु भावुकताबस ल्याइएको उनको भनाइ छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रममाथि प्रश्न उठाए । उक्त कार्यक्रम पाँच वर्षदेखि निरन्तरतामा रहेको भएपनि त्यो प्रभावकारी नरहेको बताए । साथै, उनले बजेटमा प्रयोग भएको ‘नवप्रवर्तन’ भन्ने शब्दमाथि प्रश्न उठाए ।

नवप्रवर्तन भन्ने शब्द राख्दैमा नयाँ कुरा नआउने उनको भनाइ छ । बजेटमा शब्दहरुको भीडमात्रै जम्मा गरेर त्यसले सार्थकता नपाउने बताए । बजेटले कर्मचारीहरुको मनोबल र उत्प्रेरणा बढाउन नसकेको उनको टिप्पणी रहेको छ । उनले सम्रगमा औषत ढंगबाट बजेट आएको बताए ।। यस बजेटले गरिब र सीमान्तकृत वर्गका जनतालाई छुन नसक्नेप्रति उनले चिन्ता व्यक्त गरे । ती वर्षहरुले पनि यो बजेटबाट लाभ लिन सकेको खण्डमा मात्रै बजेटको सार्थकता हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्