Logo

बजेटमा पुराना कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ: डा.चन्द्रमणि अधिकारी



काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटलाई लिएर प्रशंसा र आलोचना दुवै भइरहेको छ । बजेटलाई केहीले चमत्कारिक भनेका छन् भने धेरैले जनतामा भरोसा र विश्वास जगाउन नसकेको भनी टिप्पणी गरेका छन् ।

यसैबीच अगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटलाई लिएर रिपोर्टर्स क्लब नेपालले अर्थविद्हरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा अर्थविद् डा.चन्द्रमणि अधिकारीले बजेटको उद्देश्य र प्राथमिकतामा हेर्दा विमति राख्नुपर्ने केही कुरा नरहेको बताए । तर, बजेटमा पुराना कार्यक्रमलाई पनि निरन्तरता दिइएको र करिब एक दर्जनभन्दा बढी नयाँ कार्यक्रम थपिएको उनले बताए । बजेटमा अहिलेसम्म बनेका प्रतिवेदनको कुनै पनि सुझाव समावेश नभएको बताए । उनले बजेटको आकारलाई सन्तुलित नै मान्नुपर्ने बताए ।

साथै, अर्थतन्त्रको सूचक, उत्पादन, उपभोग, खर्च र आयको स्तर सबै संकुचनमा रहेको भन्दै लक्ष्य अनुसारको राजश्व उठ्नसमेत गाह्रो रहेको बताए । उनले बजेट अहिलेको जनजीविका र दैनिकीको सवालमा र व्यवसायलाई प्रवर्दधन गर्ने गरी आउन नसकेको बताए ।

राज्यले समाजवादउन्मुख अर्थतन्त्र बनाउने भनेर राज्य दैनिक ५ सय कमाउने मजदुरबाट पनि सामाजिक सुरक्षा कर लिएकोप्रति आपत्ति जनाए । उनले आगामी आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्च ९० प्रतिशतभन्दा बढी गर्न सकिएको खण्डमा र नीतिलाई ७० प्रतिशतभन्दा बढी कार्यान्वयन गर्न सकेको खण्डमा प्रतिफल प्राप्त हुने बताए । अन्यथा बजेट छरिएको र यसले कुनै प्रतिफल दिन नसक्ने जोखिम रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्