Logo

‘परमादेश’ को फेरो समाउँदै गण्डकीबाट सत्तामा कांग्रेसको ‘कमब्याक’



काठमाडौं,१६ जेठ । संघदेखि प्रदेश सरकारबाट सत्ताच्यूत भएको छोटो समयमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तामा कमब्याक गरेको छ ।

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएसँगै सत्तामा कांग्रेसको कमब्याक भएको हो । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सर्वोच्चले सोमबार ४८ घण्टाभित्र धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो ।

न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो । उपधारा ३ मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।

सुरेन्द्रराज पाण्डे दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । गत वर्ष बैशाख १४ गते पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तत्कालीन सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते राजीनामा दिएका थिए । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ जना सांसद छन् ।

संविधान र सर्वोच्चको परमादेशको साहराले मुख्यमन्त्री नयुक्त भएका पाण्डेले पनि ३० दिनभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । हालसम्म उनलाई आफ्नो पार्टीका २७ जनाले समर्थन गरेका छन् भने २ सीट रहेको राप्रपाले पनि सघाउने बचन दिएको कांग्रेसले दाबी गरेको छ ।

कांग्रेसले दाबी गरेजस्तै राप्रपाले पनि साथ दिएमा पाण्डेलाई सत्ता टिकाउन २ सांसदको आवश्यक्ता पर्छ । उनले स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाउने सर्तमा सरकारमा सामेल गराउने रणनीति लिएका छन् भने माओवादीको चुनाव चिन्हबाट जितेका नेसपाका फणिन्द्र देवकोटालाई मनाउने उनको रणनीति छ । उनले दलबाट फ्लोरक्रस गर्न मानेमा र मनाङेले सघाएमा उनको सत्ता ३० दिनबाट कट्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्