Logo

मण्डेलाले पहिचानका लागि श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुपरेको दृष्टान्त दिँदै रेशमले यसरी पोखे पीडा…



काठमाडौं, १६ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफू विगत चार महिनादेखि विछिप्तता र पीडामा रहेको बताएका छन् । हिजो (मंगलबार) गणतन्त्र दिवस २०८१ को अवसरमा गुलरिया नगरपालिका–३ बर्दियामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई यतिधेरै पीडा जेलमा २१ किलोको नेल लगाउँदा पनि नभएको बताएका छन् । उनले सो क्रममा श्रीमान/श्रीमतीबीचको खट्पटलाई समेत जोडे । उनले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी मन्त्री हुँदा आफू पार्टी कार्यालयकै एउटा कोठामा सुतेको बताए । संरक्षक चौधरीले यसरी विछिप्त मानसिकताको बीचमा पनि पार्टीको संगठन निर्माणमा लागिरहँदा साथीहरुले सामाजिक सञ्जालमा गाली गरेको भन्दै आपत्ति जनाए ।

‘मन्त्रीजी मन्त्री क्वार्टरमा सुत्नुहुन्थ्यो । म पार्टी कार्यालयको एउटा कोठामा सुत्थेँ । त्यहीँको ग्यासमा पानी तताएर नुहाउँथेँ । तर, पार्टी विस्तारमा अहोरात्र खटिएँ ।’ उनले भने, ‘चार महिनादेखि मनस्थिति बिग्रियो । सुधार्ने अनेक प्रयन्त गरेँ, गर्दैछु । यतिधेरै विछिप्त, यतिधेरै दुःख, यतिधेरै पीडा त मलाई जेलमा २१ किलोको नेल लगाउँदा पनि भएको थिए । तै पनि सामाजिक सञ्जालमा मलाई साथीहरु गाली गर्नुहुन्छ ।’

साथै, थारुहरु विगतमा पनि मन्त्री भएको स्मरण गराउँदै उनले १०/२० लाखको विकासे बजेट दिँदैमा पहिचानको विरुद्ध नबोल्न नेता तथा कार्यकर्तालाई सचेत गराए । उनले भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादबारे आफूहरुले संसारलाई नै जवाफ दिने बताए । ‘अहिले हाम्रो पार्टी १६ जना सांसद् र ३ जना मन्त्रीहरु छन् । ३ वटा मन्त्री हिजो थारुका थिएनन् ? विजय गच्छदार, रामजनम चौधरी, गोपाल गोइतहरु मन्त्री थिएनन् ? के भयो ? पहिचानको मुद्दा र मन्त्री सरोबरी हो ? १०/२० लाखको विकासे बजेट दिँदैमा पहिचानको विरुद्धमा नबोल्नुस् ।’ उनले भने, ‘आज एउटा भूमिपुत्र थारुको बच्चाले संसारलाई हल्लाएको छ । भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता भनेको के हो ? समुदायमा आधारित समाजवाद भनेको के हो ? आज संसारलाई हामीले जवाफ दिँदैछौं ।’

साथै, उनले संसारमा ठूलो मान्छे बन्न सजिलो नरहेको बताए । उनले जिससदेखि गौतम बुद्ध हुँदै नेलसन मण्डेलासम्मको उद्धाहरण दिँदै भने, ‘आज संसारमा धेरै मान्छेले धेरै प्रकारको तरकी गरेका छन्, विकास गरेका छन् । संसारमा ठूलोमान्छे त्यसै भइँदैन । संसारमा ठूलो मान्छे हुन धेरै संघर्ष गर्नुपर्छ । जिसस क्राइष्ट जब क्रुशमा टाङ्गिए, त्यसपछिमात्रै क्राइष्ट बने । बुद्धले दरबार त्यागे, वर्षौंैवर्ष तपस्या गरे । मुर्खहरुसँग भिड्दाभिड्दा अन्तमा उनले बुद्धत्व प्राप्त गरे । मोहमद भागेर मक्का जानुपर्यो । संसारमा कुन योद्धाको इतिहास कमजोर हुन्छ र ? २७ वर्ष जेल बसेको नेलसन मण्डेलाले ९२ वर्षको उमेरमा आफ्नी स्वास्नी विनी मण्डेलासँग सम्बन्ध विच्छेद गर्नुपर्यो । जनताको लागि, पहिचानको लागि । तपाईँहरुलाई साथीहरुले फेसबुकमा गाली गरेको देख्दा त्यो एउटा मुर्ख रेशम चौधरीले इतिहास सम्झन मन लाग्दैन ?’



प्रतिक्रिया दिनुहोस्