Logo

प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं, १६ जेठ । नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियलका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रहरी अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।

साथै, प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह र प्रमुख कार्यकारी अधिकृत गुरूङले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुवै निकायको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । यस समझदारीबाट वहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरो सम्बन्धी उपचारमा थप सहजता हुने उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले समझदारीलाई कागजको दस्तावेज मात्र नभई उपलब्धीमूलक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । दुवै निकायको समन्वय र सहकार्यबाट दुवै पक्षलाई लाभ हुने उल्लेख गर्दै उनले नेपाल प्रहरी भविष्यमा पनि यस्ता सेवामूखी काममा हातेमालो गर्न तयार रहेको बताए ।

सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियलका कार्यकारी अध्यक्ष प्रा.डा. देवकोटाले फाउन्डेसनलाई समझदारी योग्य सम्झेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिँदै यसबाट गुणस्तरीय सेवा, शिक्षा र रिसर्चमा सहयोग पुग्ने बताए ।

उक्त अस्पताल तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले समझदारी अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्यूरो क्षेत्रमा विकास गर्न सहयोग गर्नुको साथै सम्बन्धित विषयमा तालिम दिन समेत फाउन्डेसन तयार रहेको बताए ।

उक्त सम्झौताअनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई औषधी र कन्जुमेवल आइटम वाहेक ओपिडी, वेड भर्ना, अप्रेसन लगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ । साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् ।

सम्झौता २०८१ जेठ १६ गतेदेखि कार्यान्वयन भई ५ वर्ष अवधिको लागि लागू हुनेछ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्