Logo

सरकार ढाल्न माधव नेपाल बूढानीलकण्ठ पुगेपछि काउन्टरमा उत्रिए झलनाथ, बालुवाटारमा प्रचण्डसँग अर्थपूर्ण भेट



काठमाडौं,१७ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्ताको विषय खुलाईएको छैन् । यद्यपी पार्टी अध्यक्ष माधवकुमार नेपल फेरि प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा लागेपछि खनाल असन्तुष्ट बनेका छन् ,। पछिल्ला दिनमा सरकारलाई बलियो बनाउनुपर्ने मत खनालले राख्दै आएका छन् । भने तत्काल सरकार छाडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा अध्यक्ष नेपाल छन् ।

यसअघि बुधबार नेपाल सांसद मेटमणि चौधरीलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा जसपाका सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार जोगाउने, सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने र गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत पुर्याउनेलगायतका विषयमा छलफल भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा सहभागी एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद छ । खासगरी सरकार सञ्चालनका विषयमा प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आएका छन् ।

एकीकृत समाजवादीमा लामो समयदेखि खनाल र नेपालबीच गुटगत प्रतिस्पर्धा देखिँदै आएको छ । हाल पार्टीमा खनाल नेपालभन्दा बलियो अवस्थामा रहेका छन् । आफूभन्दा कमजोर हुँदा पनि नेपालले सरकारनै ढाल्ने खेल खेल्न लागेको भन्दै खनाल आक्रोशित छन् ।



प्रतिक्रिया दिनुहोस्