Logo

सरोज यादव नेतृत्वको मधेश सरकारलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने उपेन्द्रको खुलासा



काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउने दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिजिभनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरोजकुमार यादव नेतृत्वको मधेश सरकारलाई कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले विश्वासको मत दिने दाबी गरेका हुन् ।

उनले अहिले जसपा नेपालसँग एक्लै बहुमत नभएको अवस्थामा अरु पार्टीहरुसँग सहकार्य गरेर बहुमत जुटाएर मधेश सरकार अगाडि बढाउने तयारी रहेको बताए । उनले मधेश सरकारमा कांग्रेस, समाजवादी, लोसपा र जनता समाजवादीसँग सहकार्य हुने र मिलेर काम गर्ने बताए । अहिले मधेश प्रदेश सभामा जसपा नेपालबाट निर्वाचित सांसदहरु कसैले पनि दल परित्याग नगर्ने उनको दाबी छ । ‘मधेश प्रदेशमा हाम्रो १९ जना सांसद् छन्, १९ जना नै जसपा नेपालमै रहन्छन्,’– उनले भने ।

साथै, उनले जसपा नेपालबाट केही नेताहरुले दल विभाजन गरेर जानुमा मन्त्री बन्ने र अरु कसैका लागि उपयोग भइदिने बाहेक अर्को कारण नभएको बताए । कसैको लागि उपयोग भइदिनुलाई सफलता मान्न नहुने उनको भनाइ छ । उनले अरुको लागि क्षणिक उपयोग हुने कार्य घृणित रहेको बताए । ‘एउटा पदको लागि पार्टी तोडे, संघीय गणतन्त्रमाथि प्रहार गरे । मधेशका मुद्दा, पहिचानका मुद्दा लत्याएर आफ्नो स्वार्थ पूर्ति गर्न जुनसुकै कुकर्म गर्न पनि तयार भए,’– उनले भने ।

साथै, जनमतका अध्यक्ष सिके राउतसँग आफ्नो कुनै वैमष्यता नरहेको बताए । मधेश सरकारलाई सघाउने विषयमा अहिले जनमतसँग कुनै छलफल नभएको बताउँदै उनले भोलि सहकार्य हुनसक्ने बताए । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि मुख्यमन्त्री यादवलाई ५४ मतको आवश्यकत्ता पर्छ । मधेशमा जसपाको १९, कांग्रेसको २२, लोसपाको ८ र एकीकृत समाजवादीको, ७ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्