Logo

गृहमन्त्रीको निर्णयको विरोध गर्दै खतिवडाले भने: यो जंगेको शासन होईन्, नागरिकलाई सडकमा ठिङ्ग्याएर राख्न पाईंदैन



काठमाडौं,१७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेबाट सुरु गरेको ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकको रुपमा खटाउने निर्णयको विरोध हुन थालेको छ । सत्तापक्षका नेताहरुले समर्थन गरेपनि खासरी नेपाली कांग्रेसका नेताहरुले यो निर्णयको विरोध गरेका छन् ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका कांग्रेस नेता रामहरि खतिवडाले गृहमन्त्रीको सो निर्णय सनकको भरमा आएको भन्दै विरोध गरेका हुन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै खतिवडाले जंगबहादुरको पालको भन्दा पनि कमडा शासन गर्न लामिछानेले प्रयास गरेको तर त्यो सफल नहुने बताए ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने,‘अहिले सडकमा केही मान्छेहरूलाई, कुनै मन्त्रीको निर्देशनमा, कुनै उपप्रधानमन्त्रीको निर्देशनमा, बिहानदेखि बेलुका ठिंग्याएर राख्ने पद्धति कानुनबिना सरासर गलत छ । मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो ।’

खतिवडाले यस विषयमा उपप्रधान तथा गृहमन्त्रीलाई समितिमा बोलाएर सोधखोज गर्ने पनि जानकारी गराएका छन् । ‘कार्यकारीलाई काम गर्न हामी रोक्दैनौँ । तर कार्यकारीले पनि कानुनसम्मत, संविधानसम्मत र मान्छेको वैयक्तिक अधिकारसम्मत रुपमा गर्नुपर्छ । मानवअधिकारको कुरालाई पनि हेर्नुपर्छ । जंगबहादुरभन्दा पनि उग्ररुपमा प्रस्तुत हुने पद्धतिको हामी विरोध गर्छौँ । कानुन हातमा लिने अधिकार कसैलाई छैन । समितिका सदस्यहरूसँग छलफल गरेर सायद हामी एकदुई दिनमा बैठक बोलाउँछौँ’, उनले भने ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन (जेठ १५) गते सामाजिक सञ्जालमा ‘अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयंसेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ’ भन्ने पोस्ट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्