Logo

८७ दिनदेखि माधव नेपालको चुलबुल र हलचल, एकीकृत समाजवादीले कस्तो भोग्ला फल ?



काठमाडौं,१७ जेठ । पूरानो १० दलीय जम्बो गठबन्धनलाई भत्काएर नेकपा एमालेसहितका दलसँग मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्तासमीकरण बनाएपछि ८७ दिनदेखि चुलबुल र हलचल गरिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल फेरि एकपटक सत्ता गठबन्धनमा उलटफेर ल्याउन तम्सिएका छन् ।

फागुन २१ गते सत्ता गठबन्धन फेरिएपछि प्रचण्ड र नयाँ गठबन्धनप्रति रुष्ट बनेका नेपाललाई मनाउन प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले निक्कै मेहनत गर्नुपर्यो । पार्टी विभाजनपछि एकअर्काप्रति आक्रामक देखिँदै आएका एमाले अध्यक्ष ओली नेपाललाई मनाउन प्रचण्ड लिएर उनकै निवास कोटेश्वर जानुपर्यो । ओली र प्रचण्डको अथक प्रयासपछि नेपाल सत्ता गठबन्धनमा सामेल भए । तर, उनको गतिविधि भने सत्तापक्षको नेता कम प्रतिपक्षी दलको नेता बढीको भूमिकामा देखिँदै आएको छ ।

प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा सामेल नेपाल नेतृत्वको पार्टीले केन्द्रमा २ मन्त्री, सुदूरपश्चिममा मुख्यमन्त्री, बागमतीमा तीन मन्त्री र लुम्बिनीमा एक मन्त्री पाएको छ । गत आम निर्वाचनमा राष्ट्रिय पार्टीको मान्यतासमेत दिलाउन नसकेका नेपाल सपना भने पछिल्ला दिनमा प्रचण्ड सरकार ढालेर आफै प्रधानमन्त्री हुने देख्न थालेका छन् । प्रचण्डलाई सत्ताच्यूत गर्न तत्कालीन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर उनले गोप्य रणनीति बनाएको र त्यसमा नेपाली कांग्रेसले साथ दिएको कुरा बाहिर आईसकेको छ ।

प्रचण्डलाई सत्ताच्यूत गराउन कांग्रेससँग मिलेको आशंकाकै बीच जसपा नेपाल बिभाजन भयो । पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले बहुमत सांसद लिएर नयाँ पार्टी गठन गरेपछि तत्कालका लागि सरकार ढाल्ने योजना सफल भएन् भने स्वयं जसपा विभाजनपछि आफ्नो पार्टीपनि फुट्ने डरले केही समय नेपाल पनि चुप बसे । जसपा विभाजको २४ घण्टा नहुँदै पार्टीको बैठक डाके । पार्टी संसदीय दलको बैठक डाकेर सरकारप्रति पूर्ण प्रतिबद्ध रहेको विज्ञप्ति पनि जारी गराए । तर, विज्ञप्ति जारी भएको महिनादिन पनि नहुँदै फेरि नेपालको ध्यान सत्ता गठबन्धन भत्काउने र प्रधानमन्त्री हुनेतर्फ सोझिएको छ ।

सत्ता गठबन्धनमा समस्या ल्याउने उदेश्यसहित नेपाल बुधबार एकाएक बूढानीलकण्ठ पुगे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको प्रतिपक्षी दलको बैठकमा सहभागी हुन उनी बुढानीलकण्ठ पुगेका हुन् । देउवा निवासमा भएको बैठकमा मधेश प्रदेश सरकार जोगाउनेदेखि समाजवादीको नेतृत्वमा रहेको सुदूर सरकारमा कांग्रेस सामेल हुनेसम्मको विषयमा गोप्य सम्झौता भएको स्रोतले जनाएको छ । त्यसोत प्रचण्ड नेतृत्को वर्तमान सरकार ढाल्न एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीलगायत खुलेरै लागेका छन् ।

सत्ता गठबन्धन सामान्य अवस्थामा रहँदारहँदै सत्ताकैनिम्ती प्रतिपक्षीसँग साँठगाँठ गर्न लागेको भन्दै पार्टीभित्र तीव्र विवाद सुरु हुन थालेको छ । बुधबार आश्चयजनकरुपमा विपक्षी दलको बैठकमा नेपाल सामेल भए । तर, पार्टीलाई कुनैपनि जानकारी गराएनन् । सत्ता गठबन्धनलाई साईजमा राख्ने प्रयासस्वरुप प्रतिपक्षीसँग हिमचिम बढाएका नेपाल पार्टीमा भने अप्ठ्यारोमा परेका छन् । उनी प्रतिपक्षी दलको बैठकमा जाँदा पदाधिकारी तहका कुनै पनि नेता जान नमानेको स्रोतले जनाएको छ । कुनैपनि पदाधिकारी जान नमानेपछि अन्तिम विकल्पको रुपमा सांसद् रहेका मेटमणि चौधरीले मौका पाएका थिए ।

त्यसो त ,भन्नेहरु भन्छन् माधव सत्ताभन्दा पर बस्न रुचाउँदैनन्, उनलाई सत्ता चाहिन्छ, चाहिएको छ । त्यसैले सत्तामा सुरक्षा खोज्दै उनी यताउता चहारिरहन्छन् । बुधबार विपक्षी दलको बैठकमा नेपाल सामेल भएपछि पार्टीका सम्मानीत नेता झलनाथ खनाल असन्तुष्ट छन् । उनले आज बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग १ घण्टा वार्ता गरेका थिए । प्रचण्डसँगको भेटमा खनालले आफूहरु वर्तमान सरकारप्रति दृढ रहेको विश्वास दिलाएका थिए । उनले आफूसँग सल्लाहनै नगरि नेपाल बुढानीलकण्ठ पुगेको भन्दै पार्टीमा कुरा गर्ने आश्वासन दिएका थिए ।

यता विपक्षीहरुको गठबन्धनको बैठकमा माधव नेपालको पनि प्रवेशले बालुवाटार र बालकोटमा पनि चर्चा पाएको छ । नेपालले आफू बाध्यतावश सत्ता गठबन्धनमा भएपनि मन यतै रहेको भन्दै दुःख तथा मनको बह पोखेका थिए ।

तर, एमाले अध्यक्ष ओलीले माधव नेपालले धेरै नै चुरीफुरी देखाउन थालेको भन्दै उनका बहुमत सांसदहरुलाई विद्रोह गराएर आफ्नो दलमा समाहित गराउनेगरि आफूलाई मुभ गराएका छन् । एकीकृत समाजवादीमा माधव नेपाल, मेटमणि चौधरी र राजेन्द्र पाण्डेबाहेक अरु ७ जना सांसदहरु एमालेमा फर्किनेगरि मन बनाएर बसेका छन् । जसपा, नेपाल विभाजनबारे अदालतको अन्तिम फैसलाको पखाईमा रहेका ती सांसदहरु जुनसुकै बेला पूरानो घर एमालेमा फर्किनेगरि रेडी छन् ।

यता माधव नेपालले धेरैने निहुँ खोज्दै गएको भन्दै प्रचण्ड र एमाले अध्यक्ष ओली असन्तुष्ट छन् । सत्ता समीकरणमा असर पर्नसक्ने देखेमा र एकीकृत समाजवादीका महुमत सांसदले चाहेमा पार्टी फुटाउन सहज हुनेगरि अध्यादेश ल्याईदिने सम्मको योजना बनाएका छन् । माधवको मूभ र चञ्चलताले आगामी दिनमा उनको पार्टीले कस्तो फल भोग्ला त्यो भने विस्तारै देखिँदै जानेछ ।



प्रतिक्रिया दिनुहोस्