Logo

ओलीले संसद्मा चलखेल गरेपछि कांग्रेस गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने शर्तबाट पछि हटेको गगनको खुलासा



काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेपछि संसदीय छानविन समितिमा उपप्रधान एवं गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने शर्तबाट आफूहरु पछि हटेको बताएका छन् । आज (बिहिबार) भिडिओ सन्देश जारी गर्दै उनले सरकारले केही दिन संसद् पेलेरै चलाउने र अधिवेशन अन्त्य गरेर समिति नबनाउने सोच राखेपछि आफूहरुले सहमति गरेको उनले बताए । उनले यस समितिले आफूहरुले उठाएको एजेण्डालाई सम्बोधन गर्ने पनि बताए ।

तत्कालीन समयमा गोर्खा मिडियाका शेयर धनी र सञ्चालकसमेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा संलग्नत रहेको कुरा तथ्य र प्रमाणहरुले पुष्टि गर्ने उनको भनाइ छ । उनले गृहमन्त्रीले संसद्को रोस्टमबाट ‘संसदीय होईन, अन्तर्राष्ट्रिय नै बनाएपनि हुन्छ’ भने पनि नाम उल्लेख गरेर समिति बनाउन नमानेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘नाम लिँदा रिसाउनुहुन्छ होला भनेर म नाम त लिन्न । तपाईहरुले बुझिहाल्नुहुन्छ, फरक पार्टीको नेताले पनि के भन्ने अवस्था आयो भने यो नामै तोकेर समिति बनाउने भन्ने कुरा कांग्रेसले माग गरिराख्छ । संसद् अरु केही दिन यसरी पेलेरै चलाउने, सभामुखले पनि साथ दिनुभएकै छ । त्यसपछि संसद् बन्द गर्दिने, संसद् बन्द गरिसकेपछि छ महिनापछि संसद् बोलाए भइहाल्यो । संसदीय समिति नबनाउने । यो सोच राखिसकेपछि हामीले पार्टीभित्रको साथीहरुसँग छलफल गर्यौं । मुख्य कुरा हामीले सहकारीको रकम अपचलन भएको छ । अपचलनमा गृहमन्त्रीको संलग्नता छ भनेर भनिरहेका छौं । तथ्य, तर्क र प्रमाणहरु छ, जुन कुरा देखिएकै छ । यसको आधारमा अनुसन्धान हुने कुरालाई निश्चित गरौं । यसको आधारमा अनुसन्धान हुने कुरालाई निश्चित गर्ने हाम्रो लागि अहिलेको आश्यकत्ता हो ।’



प्रतिक्रिया दिनुहोस्