Logo

माओवादी महासचिवको आपत्तिजनक अभिव्यक्तिः ‘मुलुक स्वाधीन बन्न जरुरी छ’ (भिडिओसहित)



काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले समाजवादको बाटोमा जानका लागि पहिला मुलुकलाई स्वाधीन बनाउन आवश्यक रहेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मुलुकलाई स्वाधीन बनाउन सकियो भनेमात्रै आत्मनिर्भर अर्थतन्त्र बन्ने बताएका हुन् । उनले मुलुक स्वाधीन नबनी रोजगारी र अर्थतन्त्रको विकास हुन नसक्ने बताए ।

‘समाजवादको बाटोमा नगई अब विकल्प छैन । त्यसकारणले समाजवादमा जाने बाटो के हो त ? मुलुक स्वाधीन बन्न जरुरी छ । स्वाधीन बन्नलाई दलहरु मिल्ल जरुरी छ ।’ उनले भने, ‘दलहरु मिलेर गएको खण्डमा मात्रै मुलुकलाई सापेक्षित रुपले स्वाधीन बनाउन सकिन्छ । स्वाधीन बनाउन सकियो भने आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्छौं । आत्मनिर्भर अर्थतन्त्रले मात्रै उद्योग, कृषिलगायतका क्षेत्रहरुमा विकास र विस्तार गर्नसक्छौं, राजिरोटी विस्तार गर्नसक्छौं । अन्यथा चाहीँ मुलुक स्वाधीन नबनी रोजगारको कहाँ विस्तार भएको छ ? मुलुक स्वाधीन नबनी अर्थतन्त्रको कहाँ विकास भएको छ ?’

‘नेपाल आज स्वाधिन राष्ट्र होईन ?’ भन्ने प्रश्नमा उनले मुलुक अहिले फेस भ्यालु र रुपमा मात्रै स्वाधीन रहेको बताए । उनले अर्थतन्त्रको नसा–नसामा गएर हेर्ने हो भने मुलुक स्वाधीन नरहेको बताए । उनले भने, ‘फेस भ्यालुमा स्वाधीन हो, रुपमा स्वाधीन हो । तर, अर्थतन्त्रको नसा–नसाको हिसाबले के स्वाधीन छ ? डेढ सय वर्ष पहिलेदेखिको अवस्थालाई अहिले एउटा दलले भनेरमात्रै हुने हो र ?’



प्रतिक्रिया दिनुहोस्