Logo

सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्नेले ३ फिटको फुटपाथ बनाउँदा विरोध गरेः बालेन्द्र शाह



काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्नेले नै ३ फिटको फुटपाथ बनाउँदा विरोध गरिरहेको बताएका छन् । सडकमा ३ फुट पार्किङ गर्दा सडक साँधुरो नभएको अवस्थामा फुटपाथ बढाउँदा चाहीँ कसरी सडक साँघुरो हुन्छ ? भनेर उनले प्रश्न गरेका छन् ।

साथै, उनले सडक विभागलाई फुटपाथ सम्बन्धी आफैंले बनाएको मापदण्ड हेर्न सु्झाएका छन् । उनले फुटपाथ सम्बन्धी मापदण्ड नै सार्वजनिक गर्दै ‘मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होईन ? भनी प्रश्न गरेका छन् ।

प्रतिशोध लिनेभए विकास रोक्नेहरूसँग लिन उनले आग्रह गरेका छन् । कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्ने र फुटपाथ बढाउन अहिले रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग प्रतिशोध लिन उनले आग्रह गरेका छन् ।

विकास गर्ने हो भने र बदलिँदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन एकजुट हुन उनले आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्ः

एउटा रोचक कुरा कुरा पढ्नुहुन्छ ?
न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?
त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।



प्रतिक्रिया दिनुहोस्