Logo

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा काभ्रेका थर्कमान पक्राउ



काठमाडौं, १८ जेठ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६१ किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थर्कमान लामालाई पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिकाका स्थायी ठेगाना भएका ४५ वर्षिय लामालाई सीआईबीको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा लामाको भूमिका पनि शंकास्पद देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले बताएको छ । गत २०८० साउनमा राजश्व अनुसन्धान विभागले भन्सार पास भएर बाहिरिएको अवैध सुन बरामद गरेको थियो ।

उक्त सुन तस्करी प्रकरण अध्ययन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा सुन तस्करी जाँचबुझ आयोग गठन भएको थियो । उक्त आयोगले अनुसन्धानका क्रममा भएका त्रुटी औंल्याउँदै थप अनुसन्धान अगाडि बढाउन सिफारिस गरेको थियो ।

सीआईबीले उक्त आयोगका सिफारिसको आधारमा दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । लामा पनि सोही जाँचबुझ आयोगबाट पोलिएर उक्त प्रकरणमा अनुसन्धानका लागि तानिएका हुन् । उनी नेपाली कांग्रेसका नेता रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्