Logo

बजेटले तनहुँलाई उल्लेखनीय रुपमा सम्बोधन गरेको छः स्वर्णिम वाग्ले



काठमाडौं, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्ने बताए ।

वर्षातमा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताए । राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि पश्चिमी खण्डमा ढिलाइ भएकोबारे सञ्चारकर्मीले सांसद वाग्लेको ध्यानाकार्षण गराएका थिए ।

सांसद वाग्लेले सम्बन्धित निकायलाई वर्षा अगावै काम द्रूत गतिमा अगाडि बढाउन आग्रह गरिएको बताए । “निर्माण कम्पनीका ठेकेदारलाई वर्षात्को समयमा निर्माणाधीन सडकमा यात्रा गर्न सास्ती हुने भएकाले कामलाई तीव्रता दिन आग्रह गरेका छौँ,” उनले भने ।

विगतमा भन्दा आर्थिक वर्ष २०८१/८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रुपमा सम्बोधन गरेको उनको दाबी छ
। अहिलेको मुख्य एजेण्डा विपद् व्यव्स्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । उनले आगलागी र हावाहुरीले पुर्याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

दमौली अस्पताललाई दुई वटा डायलासिस मेसिन उपलब्ध गराएको जनाउँदै सांसद वाग्लेले सङ्घीय संसद्बाट गर्नुपर्ने पहल सकारात्मकरुपमा गर्ने बताए । पत्रकारिताको विकासमा योगदान दिन निडर, निष्पक्ष भएर कलम चलाउने पत्रकारलाई पुरस्कारको व्यवस्था गर्न तीन करोडको अक्षयकोष स्थापना गरिएको उनले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्