काठमाडौं,२० जेठ । नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीमाथि रिस साँधेको आरोप लगाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेटमाथिको सामान्य छलफलमा भाग लिँद पूर्व अर्थमन्त्रीसमेत रहेका महतले गत वर्ष आफ्नो कार्यकालमा सुरु भएका विभिन्न आयोजना र आफ्नो निर्वाचन क्षेत्र नुवाकोटको सडक निर्माणको लागि छुट्टयाएको बजेट यसपटक विनियोजन नभएको भन्दै महतले आक्रोश पोखेका हुन् । उनले नुवाकोटमा बनेको सडकमा म मात्र हिँड्ने बाटो हो त्यो ? एमाले- माओवादीले प्रयोग गर्दैनन् ? भन्दै सरकारलाई प्रश्नसमेत गरे ।
महतले भने, ‘उहाँले रिस साँध्नुभयो । आधा जनताले प्रयोग गर्ने बाटोको बजेट रोकिदिनुभयो । सदरमुकामदेखि गोल्फु भञ्याङसम्मको बाटोको स्रोत सुनिश्चित भएर ठेक्का प्रक्रिया अघि बढेर प्राविधिक टुंगो लागेपछि भौतिक मन्त्रालयले रोक्यो । अर्थ मन्त्रालयलाई पनि भनेँ । अहिले कोल्याप्स् । म मात्र हिँड्ने बाटो हो त्यो ? एमाले र माओवादीले प्रयोग गर्दैएनन् ? के गर्न खोजेको ?’