काठमाडौं,२० जेठ । नेकपा एमालेले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१-८२ को बजेटको समर्थन गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले चुनौतीको सामना गर्न तयार रहेको बजेट भन्दै समर्थन जनाएका हुन् ।
उनले एमालेको तर्फबाट बजेटमा दृढ समर्थन गरे । पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले तुलनात्मक रुपमा बजेट संक्षिप्तमा आएको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई धन्यवाद पनि दिए । “बजेट तुलनात्मक रूपमा सन्तुलित आएको छ । बजेट संक्षिप्तमा आएको छ । तीन घण्टा, साढे तीन घण्टा सुन्नुपर्थ्यो बजेट सधैँ । तर, तर, यसपटक दुई घण्टाको हाराहारीमा सुन्यौँ । मलाई यो पनि राम्रै लागेको छ,” उनले भने ।
बाहिर आएजस्तो २० खर्बभन्दा ठूलो बजेट नआएर तुलनात्मक रुपमा सन्तुलित बजेट आएको उनको भनाइ छ । ‘यो सामान्य हो । यसलाई हामीले स्वागत गरेका छौं । उनले बजेटले राखेका स्रोतको सबै सुनिश्चितता नभएपनि कम्तिमा पनि न्यूनतम लक्ष्य पूरा गर्नेमा विश्वास गर्न सकिने अवस्था छ ’।
पूर्व अर्थमन्त्री पौडेलले राजस्व संकलनका सम्बन्धनमा स्रोत परिचालनका सम्बन्धनमा उच्च आकांक्षी बजेट आएको बताए । ‘यसलाई कतिपयले महत्तोकांक्षी बजेट भनेका छन् । तर, म त्यसो भन्दिन् । यसले उच्च आकांक्षी नै भन्न उपयुक्त हुन्छ । मान्य अर्थमन्त्रीजीले आफैले चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट गरेको मैले पाँए । सहज यात्रालाई रोज्नु भएको छैन् उहाँले । चुनौती सिर्जना गर्ने र सामना गर्ने कुरा उहाँले गर्नु भएको छ । यो चाँही बजेट निर्माणका क्रममा सबैभन्दा महत्वपूर्ण हुन्छ । सहज यात्रा त जो कोहीले पनि गर्छन’ उनले भने ।