Logo

प्रधानमन्त्रीसँग गम्भीर छलफल गर्नभन्दै ओली सिंहदरबारमा



काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने, सत्ता समीकरणको नेतृत्वमा मधेश प्रदेश सरकार गठन गर्ने र अर्थमन्त्रीले संसद्मा पेश गरेको बजेटका विषयमा छलफल भइरहेको बताइएको छ ।

कूल २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक प्रावधान भएपनि अहिले एक राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । अब २ जना राज्यमन्त्री थप्नेबारे दुई शीर्ष नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।

त्यस्तै मधेश प्रदेशमा अहिले जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकार छ । जसपा नेपाल संघीय सरकारमा अहिले सहभागी छैन । मधेशमा वर्तमान सत्ता समीकरणकै नेतृत्वमा सरकार गठन गर्न अनेकौं प्रयासहरु भइरहेका छन् । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने दिन नजिकिएसँग रणनीति तयार गर्न ओली–प्रचण्डले भेट गरेको बताइएको छ ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्अन्तर्गतको दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यलाई लिएर एमाले अध्यक्ष ओलीले आलोचना सुरु गरेका छन् । ओलीले उक्त बजेट माओवादीको मात्रै जस्तो देखिएको टिप्पणी गरिसकेका छन् । बजेटका विषयमा पनि गहन छलफल गर्ने भन्दै ओली सिंहदरबार आएको एमालेनिकट स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्