Logo

सीबी लामाको विगतः समाचार संकलकदेखि अर्बाैंको सहकारी ठगसम्म



काठमाडौं, २० जेठ । सहकारी ठगी अभियोगमा पक्राउ परेका सीबी लामा भनिने चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनको भरतपुरबाट गत शुक्रबार पक्राउ गरेको थियो । काभ्रेको तेमाल गाउँपालिका–५ (साविकको नारायणथान गाविस–८) का लामा ललितपुरको वेष्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए । आफूविरुद्ध जाहरी परेलगत्तै उनी फरार भएका थिए ।

प्रहरीका अनुसार प्रहरी वृत्त नयाँ बानेश्वरमा लामाविरुद्ध कान्तिपुर सेभिङ्ग एण्ड को–अपरेटिभ लिमिटेडका आठ सय ५२ जनाको जाहेरी परेको थियो । सोलगत्तै कान्तिपुर सेभिङ्गका अरु एक सय जनाभन्दा बढीले पुरक जाहेरी दर्ता गराएका थिए । ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख, ५२ हजार २७ रुपैयाँको रकम हिनामिना भएको भन्दै जाहेरी दिएका थिए । उक्त रकममा पुरक जाहेरी दिएकाहरुको बचत जोडिएको छैन । लामाविरुद्ध २०८० फागुनमा २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको विवरण अनुसार लामाले २०४९ सालमा ओसिन एड्भरटाइजिङमा समाचार संकलकको रुपमा काम गरेका थिए । त्यसपछि २०५२ सालमा लामाले स्थानीय विकास मन्त्रालयअन्तर्गत प्राविधिक सहायक तहको सव ओभरसियर पदमा ९ महिना जागिर खाएका थिए ।

त्यसपछि उनी २०५५ सालदेखि २०७६ पुस २४ गतेसम्म कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको अध्यक्ष बनेका थिए । सरकारले एउटै व्यक्ति दुई वटा संस्थाको अध्यक्ष हुन नपाउने नियम ल्याएपछि उनले उनले कान्तिपुर सेभिङ्गबाट राजीनामा दिएको बुझिएको छ ।

लामाले २०५५ सालमा आफ्नै अध्यक्षतामा पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड खेलेका थिए । त्यस्तै, उनी २०५९ सालमा कान्तिपुर अस्पतालको अध्यक्ष बनेका थिए । कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स प्रा.ली. स्थापना गरेका थिए ।

लामाविरुद्ध २०८० साउन १ गते पशुपति सेभिङ्ग एण्ड को–अपरेटिभका बचतकर्ताहरुले नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाले उजुरी दिएका थिए । उक्त उजुरीमा १२ करोड रकम अपचलन भएको उल्लेख थियो । यद्यपि, पशुपति सेभिङ्गबारे अहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको बताइएको छ ।

साथै, लामाविरुद्ध ४ वटा बैंकिङ्ग कसुरको उजुरी परेको र तीन वटा उजुरीको सन्दर्भमा फरार रहेको पाइएको प्रहरीले जनाएको छ । बचतकर्ताहरुको रकम अपचलन गरेर विभिन्न धन्दाहरु चलाउँदै आएका लामा अन्ततः पक्राउ परेका छन् । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्