काठमाडौं,२१ जेठ । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले राष्ट्रिय भूमि आयोगलाई काम गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका बडूले सरकारले गरिब भूमिहीन र सुकुम्बासी जनतालाई लालपुर्जा वितरण गरिरहेको हेर्न असैह्य भएपछि आयोग विघटन गरेको आरोप लगाए । उनले सरकारले विघटन गरेको आयोग अदालतले ब्यूँताएपनि काम गर्न नदिएको जिकिर गरे ।
‘गरिब भूमिहीन र सुकुम्बासी जनतालाई लालपुर्जा वितरण गरिरहेको हेर्न असैह्य भएपछि समाजवादी उन्मुख भनिएको यो वर्तमान सरकारले गठन भएपछि पहिलो निर्णय गरेर काम गरिरहेको राष्ट्रिय भूमि आयोगलाई विघटन गर्ने निर्णय गरेको छ । यस अन्ययविरुद्ध आयोग अदालत गएको छ । सम्मानीत अदालतले विघटनको निर्णयलाई बदर गरेको छ । तर, त्यसपछि पनि यो सरकारले साविकको आयोगलाई पनि काम गर्न दिईरहेको छैन् ।न नयाँ आयोगनै बनाएको छ । त्यसकारण गरिब र सुकुम्बासी जनताप्रतिको यो सरकारको जिम्मेवारी र जवाफदेहीता उदेकलाग्दो देखिएको छ’ उनले भने ।
सांसद बडूले स्थानीय तहाई दिईँदै आएको अनुदान रकम कटौती भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘वर्तमान सरकारले संघीयताको मूल मर्म विपरित स्थानीय तहमा गईरहेको अनुदानको रकम कटौती गरेको कारण गाउँपालिका महासंघ र नगरपालिका संघ आन्दोलनमा जान बाध्य भएको छ । तत्काल त्यो कटौती भएको अनुदान रकम उपलब्ध गराईयोस’ उनले भने ।