काठमाडौं । कवाडी व्यवसायीहरुले क्षतिपूर्तिको माग गर्दै गृहमन्त्री रवि लामिछानेसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सोमबार सिंहदरबारमा पुगेर व्यवसायीको तर्फबाट सञ्जय साहले लामिछानेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल सरकारको प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौ महानगरपालिकाको विभिन्न वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आएका उनीहरुले आफूहरुलाई एकाएक महानगरपालिकाले कवाड खाली गर्न सूचना जारी गरेको उल्लेख गरेका छन् ।
गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ‘उक्त सूचना बारे हामी जान्न खोज्दा महानगरपालिकाले कुनै जानकारी दिन मानेन् । तत्पश्चात हामी न्यायका लागि सम्मानित अदालतमा गयौ । महानगरपालिकाले जबरजस्ती गरिरहेको गैरकानूनी कार्य रोकी कानून बमोजिम व्यवसाय संचालन गर्न पाउनु पर्ने माग सहित हामी अदालतमा निवेदन दिएका थियौ । उक्त निवेदन माथी सुनवाई गर्दै सम्मानित अदालतले “कवाडको कुनै संरचना तत्काल नभत्काउन र नियमित कवाड संचालन गर्न गराउन” काठमाडौ महानगरको नाममा अन्तरिम आदेश जारी गर्यो, जुन यो निवेदन साथ संलग्न छ । महानगरले सम्मानित अदालतको आदेशलाई सम्मान गर्नुको सट्टा अदालतको मानहानी हुने गरी पुनः कवाड हटाउने कार्य जारी नै राखे । यही बैशाख महिनामा मात्र महानगरको विभिन्न वडाहरुमा खासगरी काठमाडौको अनामनगर, नरेफाँट, कोटेश्वर, टंकेश्वर, बानेश्वर लगायतका क्षेत्रमा कथित महानगर प्रहरीको नाउमा केही आपराधिक समूहद्वारा कवाड व्यवसायीलाई गालीगलौज तथा अभद्र व्यवहारको आपराधिक घटना मात्र भएन कवाडको व्यापक तोडफोड गरिएको स्थिति छ । महानगरको नाममा घटाईएको यस आपराधिक घटनाको छानबिन गरि हामी पीडित व्यवसायीहरुलाई क्षतिपुर्ति प्रदान गर्न तथा दोषीलाई कानून बमोजिम कारवाही गर्न माननीय उपप्रधान तथा गृह मन्त्रीज्युको गम्भीर ध्यानआकर्षण सहित निवेदन गर्दछौ’ ।