Logo

ओलीमाथि लगाइएको आरोप प्रमाणित नगरे बालेनले गम्भीर परिणाम भोग्नुपर्छः एमाले नेता थापा



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लागइएको आरोप प्रमाणित गर्न काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई चुनौति दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आरोप प्रमाणित गर्न नसकेको खण्डमा बालेनले गम्भीर परिणाम भोग्न तयार हुनुपर्ने बताएका छन् ।

‘बालेन शाहले म कुन देशमा छु ? कुन प्रणालीमा छु ? भन्ने कुरा बिर्सेर जे मनमा लाग्यो त्यही बोल्दा सबै मान्छेले मान्छन् भन्ने प्रकारको एकदमै गलत, अराजक, अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ । यो अभिव्यक्तिका निम्ति उहाँले गम्भीर प्रकारको परिणाम भोग्न तयार हुनुपर्छ,’– नेता थापाले भने ।

साथै, उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई आफ्नो सीमाभित्र रहनसमेत आग्रह गरेका छन् । बालेन सर्वोच्च अदालतभन्दा पनि माथिल्लो अदालत बन्न खोजेको उनको भनाइ छ । उनले भने, ‘उहाँ महानगरपालिकाको मेयर हुनुहुन्छ । उहाँले आफ्नो सीमा के हो ? आफूले गर्न पाउने अभिकार के हो ? कानुनबमोजिम प्राप्त भएका अधिकारहरु के हुन् ? त्यसमा बसेर उहाँले राज्य व्यवस्थाका सबै प्रणालीलाई मानेर त्यस बमोजिम उहाँ जानुपर्छ, चल्नुपर्छ । राम्रो काम गर्नुस्, आफ्नो सीमामा बसेर काम गर्नुस्, कानुनबमोजिमका काम गर्नुस् । उहाँले साथ पनि पाउनुहुन्छ । तर, उहाँले के ठान्नुहुँदैन भने उहाँ सर्वोच्च अदालतभन्दा पनि माथिल्लो कुनै अदालत छ भने त्यो अदालत हो ? फैसला सुनाउने ?’ उनले प्रश्न गरे ।

काठमाडौं महानगर प्रमुख शाहले हिजो (सोमबार) नेकपा (एमाले) का अध्यक्ष ओलीले झापास्थिति गिरीबन्धु टि स्टेटको जग्गा हिनामिना गरेको र १० हजार करोड भ्रष्टाचार भएको उल्लेख गरेका थिए । बालेनको उक्त अभिव्यक्तिलाई खण्डन गर्दै उनले प्रमाणित गरेर देखाउन चूनौति दिए । ‘नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप बालेन शाहले पुष्टि गरुन् । एउटा पनि तथ्य अगाडि सारुन् । म चूनौतिका साथ के भन्न चाहन्छु भने एउटा पनि प्रमाण, आधार र तथ्य अगाडि सारुन् । उहाँले जुन ढंगले भन्नु भएको १० हजार करोड भनेर कुन अवस्थामा लेख्नुभयो ? उहाँले सद्दे अवस्थामा लेख्नुभयो ? या उहाँ अलि अस्वस्थ अवस्थामा लेख्नुभयो ? त्यो पनि उहाँले प्रमाणित गर्नुपर्छ । उहाँले तथ्य अगाडि सार्नुपर्छ । यदि गर्न सक्नु भएन भने यो बालेन शाहका लागि व्यहोर्न नसक्ने बोलिरहेको छु भन्ने बुझ्न जरुरी छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot