Logo

एमाले–माओवादीको समीकरण चाँडै टुट्ने कांग्रेस सहमहामन्त्री यादवको दाबी, प्रचण्डलाई सहकार्यका लागि निमन्त्रणा (भिडिओसहित)



काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवले वर्तमान सरकार जतिबेला पनि ढल्नसक्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार उच्च जोखिममा रहेको बताएका हुन् ।

‘धाक, धम्की र लोभ लालच दिएर बनाइएको सरकार हो । यसलाई टिकाउने त्यही आधारमा खोजिरहेको छ । यो सरकारको जोखिम छँदैछ नि । जतिखेर पनि यो सरकार ढल्नसक्छ । आफैं ढल्छ । अहिले बहुमत कुनै पार्टीसँग छैन । लोभलालच दिएर, मन्त्री दिएर फकाएको सरकार छ । यो सरकारले संविधान मिच्दैछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अप्ठ्यारोमा पार्दैछ । यो संघीयतामाथि प्रहार गर्दैछ । विकास निर्माणको कुनै काम गर्न सकेको छैन । यो सरकार त म प्रधानमन्त्री, म मन्त्री भन्नका लागिमात्रै हो,’– उनले भने ।

एमाले–माओवादीको गठबन्धन छिट्टै नै टुट्ने उनको दाबी छ । उनले अहिले दुई दलबीच अविश्वास सुरु भइसकेको बताए । फेरिपनि कांग्रेस–माओवादी वा कांग्रेस–एमालेबीच गठबन्धन बन्नसक्ने बताए । सहमहामन्त्री यादवले प्रधानमन्त्री प्रचण्डले विगतका कमीकमजोरी स्वीकार गरेर आए कांग्रेस सहकार्यका लागि तयार रहेको बताए । शान्ति प्रक्रिया टुङ्ग्याउन, देशभरका द्वन्द्व पीडितलाई न्याय दिन र विकासको गति बढाउन कांग्रेससँग सहकार्य गर्न उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्