Logo

संसद्मा कांग्रेस र राप्रपाको एकस्वर: गल्ती स्वीकार गरौं, सहमतिय सरकार गठन गरौं



काठमाडौं,२२ जेठ । प्रतिनिधि सभाको बैठक जारी छ । आजको बैठकमा पनि अघिल्ला दिनजस्तै आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेटमाथि छलफल हुनेछ ।

विनियोजित बजेटमाथिको छलफलअघि दलीय आधारमा बोल्नैक्रममा संसद्मा सहमतिय सरकार गठन र संविधान संशोधनको प्रस्तावसमेत अघि सरेको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले सहमतिय सरकार गठनको प्रस्ताव अघि सारेका हुन् ।

कांग्रेस सांसद तथा पूर्व मन्त्री सञ्जय गौतमले संविधान संशोधनको आवश्यक्ता औंल्याएका छन् । उनले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि देशलाई राखेर काम गर्नुपर्ने बताएका छन् ।

‘के यो देशले अब यो स्थिति चुपचाप सहन सक्छ ? यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ ? मलाई लाग्दैन। हामी अनावश्यक समय खेर फाल्दैछौँ। देश बर्बाद पार्दैछौँ। जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन्। जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन्। जुन राष्ट्रमा शासन गर्नेसँग लेस मात्रैको पनि नैतिक आचरण हुँदैन त्यो राज्यका कर्मचारी कस्ता हुन्छन् ? त्यो देशको न्यायपालिका कस्तो हुन्छरु के आशा गर्ने ? के भरोसा गर्ने ? म निराश भएको छु,’ सांसद गौतमले भने।

गौतमले त्रिशंकु संसद्मा कुनै पनि सरकारले राम्रो काम गर्न नसक्ने हुँदा राष्ट्रिय सरकार निर्माण गर्नुको विकल्प नभएको दाबी गरे । उनले राष्ट्र र राष्ट्रियता बचाउन अर्ली इलेक्सनको बारेमा पनि सोच्न कांग्रेस तयार रहेको बताए ।

‘अब हामीसँग एउटा झिनो आशा बाँकी छ। देशको माया गरौँ। दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ। यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ। बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ। र यो संविधानलाई संशोधन गरौँ। यो मुलुकमा सुशासनको प्रत्याभुति दिउँ। जनतामा आशा र भरोसा पैदा गर्ने एउटा बाटो कोरौँ। अनिमात्र हामिले अगाडी बढ्न सक्छौँ,’ उनले भने।

यता प्रतिपक्षी दल राप्रपाका सांसदसमेत रहेका उपाध्यक्ष विक्रम पाण्डेले पनि विगतका गल्ती कमिकमजोरी सच्याउँदै सहमतिको सरकारको विक्लप नभएको जिकिर गरे ।

उनले भने, ‘यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरू स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर बढेन भने यो देशमा गणतन्त्र रूपी गाडीको तेल सकिसकेको अवस्था छ । गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामी किन नयाँ सोचका साथ अगाडि बढेनौं ।’



प्रतिक्रिया दिनुहोस्