Logo

संसदमा अर्थमन्त्रीबिना नबोल्दै भन्दै राजेन्द्र लिङ्देनको अडान, सत्तापक्षले भन्यो: सभामुखसँग दोहोरी खेल्न खोजियो



काठमाडौं,२२ जेठ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बिहान ११ बजेदेखि जारी बैठक आजै १५ मिनेटपछि बस्नेगरि स्थगित भएको हो । आजको बैठक स्थगित हुनुअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको बोल्ने पालो थियो । सभाको नेतृत्व गरिरहेकी उपसभामुख इन्दिरा रानाले लिङ्देनलाई बोल्न समय दिएकी थिईन् ।

सभामुखले समय दिएपछि बोल्न रोष्ट्रममा पुगेका लिङ्देनले प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुन नआएको भन्दै बोल्न मानेनन् । रानाले अर्थमन्त्री राष्ट्रिय सभामा गएको र केही मिनेटमै आउने भन्दै बोल्न आग्रह गरेकी थिईन् । तर, उनले अर्थमन्त्रीबिना एक शव्दपनि नराख्ने अडान लिए ।

उपभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभामा गएको जवाफ दिएपनि आफ्नो कुरा कसलाई सुनाउने ? भन्दै प्रतिप्रश्न गरे ।

उनले भने, ‘सत्तापक्षले त छलफल गरेरै ल्याएको होला । हामीले त सुनाउने यहीँ हो । त्यसैले उहाँ आएपनि मात्रै मेरो कुरा राख्छु ।’

खानेपानीमन्त्री सदनमै उपस्थित रहेको भन्दै उपसभामुखले आफ्नो कुरा राख्न लिङ्देनलाई अनुरोध गर्दै उनल‍े मानेनन् ।

उनले भने ‘अर्थमन्त्री नै चाहिन्छ नि ! खानेपानीमन्त्रीले म सक्छु भन्नुभयो भने ठीक छ । अर्थमन्त्री आएपछि सुरू गरौं अहिलेलाई ब्रेक गरौं ।’

यता लिङ्देनले रानासँग सवाल जवाफ गर्न खोजपछि सत्तापक्षका सांसदले नियमापत्ति जनाएका थिए । उनीहरुके नियमापत्तिपछि रानाले एमाले सांसद दयालबहादुर शाहीलाई बोल्न समय दिईन् । शाहीले प्रतिपक्षीले सभामुखसँग हुँदै नभएको व्यवस्था खोजर दोहोरी खेलेको आरोप लगाए । ‘अस्ती माननीय रामहरि खतिवडाले त्यस्तै गर्नुभयो । आज उहाँले पनि त्यहि गर्नुभयो । सभामुखसँग बलजफ्ती दोहोरी खेल्न खोजियो’ उनले भने ।

शाहीको भनाईप्रति फेरि राप्रपाका सांसदले आपत्ति जनाए । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय मान्यताप्राप्त दलको नेताले मन्त्री खोज्दा सरकारले दिनसक्नुपर्ने नभए बैठक स्थगित गर्नुपर्ने माग गरे । शाहीको मागप्रति ध्यानाकर्षण भएको जनाउँदै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेट स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्