Logo

नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षक अशोक कुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरीको बलवा नगरपालिका–९, धमौरास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटा (राहत) शिक्षक पदमा कार्यरत साहले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

साह सो विद्यालयमा २०६९ कात्तिक २५ गते अनुदान कोटा (राहत) शिक्षक पदमा नियुक्त भएका थिए । अख्तियारले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्