काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्व राजदूत दीपकुमार उपाध्यायले भारत कूटनीतिक सम्बन्धमा अत्यन्त संवेदनशील बन्नु आवश्यक रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भारतले छिमेकी राष्ट्रहरुसँगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका हुन् । उनले नेपाल र भारतको बीचमा अहिले सीमा सम्बन्धि विवाद कायमै रहेको बताउँदै अब नयाँ बन्ने भारतीय सरकारले यी मामिलाहरुमा अत्यन्त सजक भएर काम गर्नुपर्ने बताए । उनले भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायतका क्षेत्रको सीमा विवादमा समाधान खोज्न नचाहेको बताए ।
‘परराष्ट्र सम्बन्ध भनेको अत्यन्त संवेदनशील हुन्छ । त्यसमा हामीले भनेका, बोलेका कुराहरुलाई कार्यान्वयनमा लाने कुरामा सजक रहनुपर्दछ । नेपाललगायत भारतले आफ्नो छिमेकी देशहरुसँगको सम्बन्धमा पुनर्विचार गरेर समयसापेक्ष दृष्टिकोण बनाउनुपर्दछ । नेपालसँग पनि जतिसुकै सम्बन्ध राम्रो छ भनेपनि हाम्रो सीमा विवादका कुराहरु, आर्थिक समस्याहरु लगायत धेरै कुराहरुमा हामी भारतसँग निर्भर छौं । हाम्रो संस्कृति, सभ्यता सबैले हामीलाई बाध्य पारेको छ । त्यो अनुसारको नेपालले गति लिन नसक्दाखेरी भारतको पनि अलि अपरिपक्व कुटनीति हो कि भन्ने मलाई लाग्दछ । नेपालको त कमीकमजोरी आफ्नो ठाउँमा छन्, तर भारतको पनि परिपक्व कुटनीति हुनुपर्थ्यो,’– उनले भने ।
साथै, नेपाली नेता र जनताहरु पनि भारत, युरोप, अमेरिकालगायतको विरोध नै राष्ट्रवाद हो भन्ने जस्तो सोचबाट मुक्त हुन आवश्यक रहेको उनको भनाइ छ । पूर्वरादूत उपाध्यायले नेपाल र भारतले आफ्नो –आफ्नो दृष्टिकोण प्रष्टरुपमा राख्न सक्नुपर्ने बताए ।
‘भारतको विरोध, अमेरिकाको विरोध, युरोपको विरोध नै नेपालको राष्ट्रवाद हो भनेजस्तो हाम्रा पनि केही कमीकमजोरीहरु छन्, त्यसबाट हामी मुक्त हुनुपर्दछ । हामीले नयाँ प्रविधि प्रयोग गरेर आजको समाजमा के उपल्धी भारतलाई हुन्छ ? के उपलब्धी नेपाललाई हुन्छ ? त्यसमा हामीले आफ्नो–आफ्नो दृष्टिकोण प्रष्ट पार्नुपर्छ,’– उनले भने ।
साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको दृष्टिकोण अत्यन्त सकारात्मक रहेको पनि बताए । भारतको परराष्ट्र नीति र मन्त्रालय अत्यन्त सिस्टोमेटिक चलेको उनले बताए । नेपाल र नेपाली पनि अगाडि बढ्नुपर्छ, भारतमात्रै विकसित भएर हुँदैन भन्ने मोदीको दृष्टिकोण रहेको उनको दाबी छ ।