Logo

अपाङ्गता भएका व्यक्तिहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्दै अनशनरत दीपक भण्डारीको जीवनरक्षा गरिओस्: सांसद भट्टराई



काठमाडौं,२३ जेठ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले अपाङ्गता र पूर्ण अशक्तता भएका व्यक्तिहरुसँग सरकारले गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराईले अपाङ्गता भएका व्यक्तिसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै ३७ दिनदेखि शान्तिबाटिकामा अनसनरत दीपक भण्डारीको जीवन रक्षा गर्न माग गरेकी हुन् । सरकार र सरोकारवालाबीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पूर्ण अपाङ्गता भएका भण्डारी अनसनमा छन् ।

‘संविधानको धारा ४२ मा अपांग्ता भएका नागरिकको अधिकारलाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ । अपांगता भएका व्यक्तिको हक सम्बन्धी ऐन २०७४ मा भएको व्यवस्था अनुसार बनेको नियमावली ०७७ को नियम ९ मा पूर्ण अशक्ता र अपाङ्गताको लागि व्यक्तिगत सहयोगी उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ’ उनले भनिन् ‘यसलाई कार्यान्वयन गर्न महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयले सरोकारवालासँग ०८१ वैशाख १ गते छलफल गरेर सम्झौतासमेत गरेको थियो । यसलाई कार्यान्वयन गर्न बजेट विनियोजन गर्न नसक्ने भन्ने जानकारीमा आएपछि पूर्ण अपाङ्गता भएका व्यक्ति दीपक भण्डारी आमरण अनसनमा छन् । ३७ दिनदेखि उनी अनसानमा छन् । उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएको छ । सरोकारवाला र मन्त्रालयबीचको सम्झौता कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरि पूर्ण अपाङ्गा भएका व्यक्तिहरुके हक सुनिश्चितता गर्न सभामुख महोदयमार्फ अर्थमन्त्रीज्यूको ध्यानाकषर्ण गराउँदछु’ ।



प्रतिक्रिया दिनुहोस्