काठमाडौं, २३ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस वर्ष मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घर परिवारलाई राहत दिनुपर्ने आँकलन मन्त्रालयको रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मनसुनजन्य विपद, विपदपछिको उद्दार र पूर्व तयारीका बारेमा जानकारी गराएका हुन् । ‘मनसुनजन्य विपदबाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घरपरिवारलाई मनसुनजन्य विपदमा उद्दार र राहत दिनुपर्ने आँकलन पनि हाम्रा पछिल्लो महिना गरिएको बैठकबाट निस्किएको निश्कर्ष अध्ययनको डाटा हो,’– उनले भने ।
गृहमन्त्री लामिछानेले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृहमन्त्रालयको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखाको सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गरिएको पनि बताए । उक्त कमाण्ड पोष्टमा सबै सुरक्षा निकाय र विपद व्यवस्थापनमा सरोकार राख्ने विभिन्न मन्त्रालयका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्ने उनको भनाइ छ ।
कमाण्ड पोष्टले मौसम पूर्वानुमानको जानकारी दिई जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्व तयारी र विपदका घटनापछिका प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गराउन संयोजनकारी भूमिका खेल्ने बताइएको छ । कमाण्ड पोष्टलाई पूर्ण अधिकार दिइएको उनले बताए । गृहमन्त्र लामिछानेले कमाण्डले ११४९ को टोल फ्रि नम्बरलाई आजैदेखि सुचारु गरिएको बताए ।
नागरिकको जीवन बचाउने कुरालाई सबैभन्दा बढी प्राथमिकतामा राखेर कुनै नीति, नियम, नियमावलीले विपदका बेला उद्दारमा अवरोध गर्न हुँदैन भनेर आफूहरु लागिपरेको गृहमन्त्री लामिछानेले बताए ।File Photo/RN