Logo

मधेशमा सत्ता लम्ब्याउने खेल, बहुमत जुटाउन नसकेपछि बैठक सार्न मुख्यमन्त्रीले पठाए पत्र, बिरामी भएको दाबी



काठमाडौं,२३ जेठ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाईइको मधेश प्रदेश सभाको बैठक सार्न मुख्यमन्त्री सरोजकुमार यादवेल सभामुखलाई पत्र पठाएका छन् ।

बुधबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक २८ गतेसम्म सार्न माग गर्दै पत्र पठाएका हुन् । उनले आफू एकाएक बिरामी बनेको दाबी गरेका छन् । विपक्षीले भने विशवासको मत जुटाउन नसकेपछि बिरामीको बाहना गरेको आरोप लगाएका छ्न ।

मुख्यमन्त्री यादवबाट प्राप्त पत्रबारे थप छलफल गरेर निर्णय गरिने सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार परामर्श समिति एवम् दलका नेताहरूसँग छलफल गरेर अब यसबारे टुङ्गो लगाइनेछ ।

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए भने तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले बताए ।



प्रतिक्रिया दिनुहोस्