Logo

ओलीले होच्याएर बोलेको चर्चाकाबीच सुमनाले खोलिन् मुख



काठमाडौं,२३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशीसँग कुनैपनि सम्बन्ध राख्दैमा देशद्रोही नहुने बताएकी छन् ।

बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला भन्दै हेपेको चर्चा भएको थियो । सो अभिव्यक्तिलाई सुमनाले घुमाउरोरुपमा जवाफ दिएकी हुन् ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालक्षित ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भन्ने अभिव्यक्ति दिएका थिए । ओलीको सोही अभिव्यक्तिलाई जवाफ दिने गरी मंगलबार सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेकी छन्, “के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?”

सुमनाको भनाइ जस्ताको त्यस्तै

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।

आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।

कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।

तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो ‘तँ बसेर आएको देश हो र नेपाल पो हो’ भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।

महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । ‘समाजको नियम’ भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबैप्रति लक्षित हो ।

यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले नेपाल जान्छु र केहि गर्छु भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot