Logo

विश्वासको मत नलिएपनि मधेशका मुख्यमन्त्री यादव आजै रातीबाट पदच्यूत हुने



काठमाडौं,२३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सत्ता केहि दिनका लागि लम्ब्याउन प्रयासरत छन् । दिउँसो ३ बजे बस्ने प्रदेश सभाबाट विश्वासको मत लिनका लागि बोलाईएको बैठक अन्यौलमा छन् ।

विश्वासको मत नपाउने निश्चित भएपछि यादवले २८ गतेसम्म बैठक सार्न माग गरेका छन् । उनले बिरामी भएको दाबी गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएका छन् । तर, सभामुखले निर्णय गरिसकेका छैनन् ।

यता प्रदेश सभाबाट विश्वासको मत नलिएपनि उनी आजै रातीबाट पदमुक्त हुने भएका छन् । मुख्यमन्त्रीले एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएकाले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने सोचे । तर आफ्नै दल जसपा नेपाल विभाजन भएकाले पनि विश्वासको मत लिनुपर्ने थियो । सोही कारण उनको पद धरापमा परेको छ ।

वैशाख २२ मा जसपा नेपाल विभाजन भएको थियो । दल विभाजन भए पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्था अनुसार मुख्यमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने थियो ।

प्रदेशका प्रतिपक्षी तथा सत्ता गठबन्धनमा रहेका दलहरू पनि मुख्यमन्त्री स्वतः पदमुक्त भइसकेकाले नयाँ सरकारको आह्वान गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराएका छन् ।

प्रदेश प्रमुख भण्डारीले आज राति १२ बजेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिएको औपचारिक जानकारी प्राप्त नभए भोली नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढाउने तयारी गरेको बुझिएको छ ।

बिहीबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नेछिन् । नयाँ सरकार गठनको आह्वानपछि जनमतका महेश प्रसाद यादवले मुख्यमन्त्रीमा दावी पेश गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्