काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बाध्यतामा पारिएको कारण मधेश प्रदेश सरकार ढलेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई संघीय सरकार बमोजिमको सत्ता समीकरणमा सहयोग नगरे पार्टी फुटाइदिने थ्रेट दिइएको बताएका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भएको संवादलाई उदृत गर्दै अध्यक्ष यादवले भने, ‘ उहाँले मलाई भन्दाखेरी पार्टी ध्वस्त पार्न लागे, केही समयका लागि मैले समर्थन गर्नुपर्ने भयो, चाहँदा नचाहँदै पनि भन्ने कुरा भएपछि मन्नुपर्यो । सरकार भन्ने कुरा त कतिखेर कुन ढल्छ, कुन बन्छ ठेगान हुँदैन ।’
जसपा अध्यक्ष यादवले एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले स्वतन्त्र भएर आफ्नो पार्टीको निर्णय गर्नसक्ने अवस्थामा नरहेको बताए । उनका अनुसार एकीकृत समाजवादी फुटाइदिने र तहसनहस पारिदिने भ्रम फैलाइएको छ । एकीकृत समाजवादीका मधेश प्रदेश सभा सदस्यहरुले अध्यक्ष नेपालसँग ‘हामी जसपा नेपालसँग रहन्छौं’ भन्दा पनि पार्टी फुट्ने डरले त्यो निर्णय नभएको जसपा नेपालका अध्यक्ष यादवको भनाइ छ ।
‘उहाँको पार्टी फुटाइदिने, तहसनहस पारिदिने त्रास फैलाइएको छ । उहाँका मधेश प्रदेशका सबै प्रदेश सभा सदस्यहरुले गएर हामी जसपा नेपालसँग रहन्छौं भन्दा पनि उहाँले आफूले चाहँदा चाहँदै पनि त्यो निर्णय गराउन अहिले सकिन्न, अहिले निर्णय गर्नेबित्तिकै पार्टी फुट्छ, हामी बर्वाद हुन्छौं भनेर भन्दाखेरी किन कसैले बवार्द बनाउने सरकार भनेको गइरहन्छ, आइरहन्छ,’– जसपा अध्यक्ष यादवले भने ।
मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्दा उनी हिजो पदमुक्त भए । करिब साढे छ वर्ष निरन्तर मधेश सरकारको नेतृत्व गरेको जसपा अब भने प्रतिपक्षी बनेको छ ।